अब केराको थामबाट पनि आम्दानी, टीकापुरमा खुल्यो उद्योग

टीकापुर । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।
यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौं पठाइने भएको छ ।
सहकारीले काठमाडौंको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए ।
केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गरे । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ ।
“केराको थाम पाउन समस्या छैन”, उनले भने । सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरणसमेत सिर्जना गर्ने काम गरेको छ । सहकारीले रेसा उत्पादन गर्ने उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ । केराको धागो र रेसा बनाउन सहकारीको रु दुई लाख र रु दुई लाख दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए । खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए ।
सहकारी आफैंले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ । विसं २०६८ मा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया