काठमाडौंमा एक बालिकामाथि ६ जनाद्वारा बलात्कार

काठमाडौं । काठमाडौंकी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा जनाएको छ । तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको हो ।
एकपटक तीनजनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितको जाहेरी छ । गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् । बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन् । जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।
तिनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टु लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्काे मुद्दा दायर भएको छ । जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक–पटक बलात्कार भएकोमा अर्काे मुद्दा दायर भएकोमा छ । जसमा रुकुम पश्चिमका खडकप्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो । बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलाशले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । पक्राउ परेका सबैजनाको बालिकासँग फेसबुकमार्फत चिनजान भएको थियो ।
प्रतिक्रिया