NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका तत्कालिन अध्यक्ष शेष फारुक,तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसमेत १० जना उपर गैरकानूनी लाभसम्बन्धि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्सी गाउँपालिका वडा नं. ६ मा सञ्चालन भएका इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरचोक सम्म पी.सी.सी. ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको अख्त्यिारको अभियोग छ ।

लागत अनुमान स्वीकृत गरी सम्झौता गरेको, कार्यादेश दिएको, गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।

सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक र उनकी श्रीमती सदरुन निसाले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म सडक पी.सी.सी. ढलान र नाला निर्माण योजनाको बिल अनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मुनासिव देखिएको रायसहितको टिप्पणी आदेश समर्थन गरेको, उक्त योजनामा स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिई सोहीबमोजिम उक्त योजनाको निर्माण उपभोक्ता समितिलाई चार लाख तीन हजार भुक्तानी दिइएको थियो ।

प्रशासकीय अधिकृत अन्सारीसहित श्याम किशोर मण्डल, ओम कुमार महतोले भ्रष्टाचारमा सघाएको दाबी गरिएको छ।

अनुगमन समिति सदस्य पनु राय र विपिन विहारी यदुविरले पी.सी.सी. ढलान र नाला निर्माण योजनाको निर्माण कार्य स्वीकृत लागत अनुमान बमोजिम भएको भन्ने व्यहोराको गलत अनुगमन प्रतिवेदन दिएका आयोगले जनाएको छ ।
नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष शेष सराहत, सचिव नाजना खातुन र कोषाध्यक्ष शेष समिउल्लाहलाई पनि प्रतिवादी बनाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष