लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–६, त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे ।
विदुर नगरपालिका–४ को बजारबाट सिधै विदुर–६, मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
बट्टार बजारबाट मान्द्रेढुङ्गा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।
सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया