जसपाको महाधिवेशनको कार्यतालिका सार्वजनिक
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको सङ्गठित सदस्यतालगायत वैशाख ३ गतेभित्र सङ्कलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ ।
कार्यतालिका अनुसार वैशाख १० गतेभित्र सङ्गठन विभागले आवश्यकताअनुसार सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, सङ्गठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनुपर्ने, १६ गते सङ्गठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ ।
त्यसैगरी वैशाख १७ देखि २० सम्म सङ्गठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । सङ्गठित पार्टी सदस्यको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ ।
यसैगरी, मधेस प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।
गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । सङ्गठित पार्टी सदस्यताको विवरण पठाउँदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता सङ्गठित सदस्यको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले सङ्गठन विभागमा यथाशीघ्र पठाउनुपर्ने जसपाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया