प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान दुईबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री प्रचण्ड र खनालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ ।
पछिल्लो समय एकीकृत समाजवादी सत्तागठबन्धनको कार्यशैलीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पूर्ववाचाविपरीत एकीकृत समाजवादीलाई उपेक्षा गरेर अघि बढेको उक्त पार्टीको बुझाइ छ । अवस्था यस्तै रहे सत्तागठबन्धनबाट अलग हुने चेतावनी दिएको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको समर्थनप्राप्त नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन नै गरेको छ । समाजवादीको यस्तो कदमपछि सत्ता गठबन्धन दल झस्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा केन्द्रको गठबन्धनविपरीत समाजवादी उभिएपछि आएको हलचलबीच एकीकृत समाजवादीका नेता खनाललाई प्रचण्डले भेटेका हुन् ।
स्रोतका अनुसार, मंगलबार बिहानको कुराकानीमा खनालले सुदूरपश्चिमको मुख्यमन्त्री नदिए केन्द्रको सत्तागठबन्धनबाट आफ्नो पार्टी अलग हुने चेतावनी दिएका छन् । खनालको यस्तो चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको विषय सल्ट्याउने आश्वासन दिएका छन् ।
‘खनालले भेटमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पार्टीले नपाए सत्तागठबन्धनमा संकट आउने स्पष्टसँग प्रधानमन्त्रीलाई राख्नुभयो,’ स्रोतले भन्यो, ‘खनालको चेतावनीपछि प्रधानमन्त्रीले मंगलबार साँझसम्म यो मामला सल्टाउने आश्वासन दिनुभएको छ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया