बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम
म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ ।
आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले जानकारी दिइन् ।
समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उनको भनाइ छ ।
उनले भनिन्, “यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा २ र १० मा लागू भएको छ ।”
दुई वर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम शनिबारदेखि सुरु भएको छ । चौधवटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
तालिममा सहभागीलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताइन् ।
गत वर्ष नगरपालिका–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए । वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सीप सिकेर व्यवसाय सञ्चालन गरेका थिए । नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।
यसैबीच वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ । तालिममा २० जना सहभागी छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया