प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन् ।
नेपाली कांग्रेस र एमालेबीच बनेको सत्तासहकार्य गर्ने समझदारीले दबाबमा परेका प्रचण्डले विश्वासको मतको सामना गर्ने तर राजीनामा नदिने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिए ।
‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । संसद फेस गर्ने र विश्वासको मत लिने कुरा गर्नुभएको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका एमालेलगायत दलले समर्थन फिर्ता लिएमा प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रधानमन्त्रीले अन्य दलसँगको संवादलाई पनि जारी राख्ने सचिव पौडेलले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र स्वयं एमालेसँग पनि कुराकानी र छलफल गरेर अघि बढ्नेछु,’ प्रधानमन्त्रीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै पौडेलले भने ।
यसैबीच, मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उक्त भेटमा ओलीले प्रधानमन्त्रीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न भने प्रधानमन्त्री प्रचण्डले संविधान चलाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।
एमाले र कांग्रेसबीच मध्यराति राजनीतिक समझदारी बनेसँगै राजनीति तरंगित बनेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया