को–को बन्दैछन् ओली सरकारमा मन्त्री ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
चौथो पटक सरकारको नेतृत्व गर्दै सत्तारोहण गरेका ओलीले लगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
असार १७ गते राति माओवादी केन्द्रसँगको गठबन्धन टुटाएर कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेका ओलीले आफ्नो पार्टीको भागमा परेका मन्त्रालयमा पठाउने मन्त्रीको नाम करिब टुंगो लगाएका छन् । पार्टीका नेताहरूसँगको छलफलपछि ओलीले पार्टीबाट मन्त्री बनाउनेको नाम एकसरो टुंग्याएका हुन् । यद्यपि, यसमा तलमाथि हुनसक्ने सम्भावना छ ।
स्रोतका अनुसार, एमालेले उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी पार्टी उपाध्यक्षसमेत रहेका विष्णु पौडेललाई दिँदैछ । पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
सञ्चार मन्त्रीमा एमालेले पृथ्वी सुब्बा गुरुङलाई अवसर दिने करिब पक्का भएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारीसहित ओलीले सञ्चार मन्त्री बनाउन लागेका हुन् ।
ओली नेतृत्वको सरकारमा योगेश भट्टराई, गोकुल बाँस्कोटा, सूर्य थापाले पनि सञ्चार मन्त्री बन्ने आकांक्षा देखाएको बताइन्छ । तर उनीहरू नभएर गुरुङ ओलीको रोजाइमा परेका छन् ।
एमालेले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाललाई पनि मन्त्री बनाउँदैछ । उनले भौतिक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।
त्यस्तै, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पनि एमाले कोटाबाट मन्त्री बन्दैछन् । भट्टराईलाई शिक्षा र राईलाई रक्षा मन्त्रालय दिइने तय भइसके पनि गुप्ताले सम्हाल्ने मन्त्रालयबारे टुंगो लाग्न बाँकी छ ।
पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारका दुई मन्त्री दामोदर भण्डारी र बलराम अधिकारीलाई पनि एमालेले यस पटक निरन्तरता दिँदैछ । उनीहरूले क्रमशः उद्योग र भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउन सक्ने एमाले स्रोतले बतायो ।
सिंहदेखि आरजुसम्म मन्त्री, शेखर–गगनले पनि भाग पाउने
ओली नेतृत्वको सरकारको प्रमुख घटक नेपाली कांग्रेसले पनि मन्त्रीको नाम करिब करिब टुंगो लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुटलाई सम्बोधन गर्नेगरी मन्त्रीको सूची तयार पारेका हुन् ।
कांग्रेस वृत्तमा चलेको चर्चाअनुसार पार्टीको नेतृत्व गरेर प्रकाशमान सिंहलाई सरकारमा पठाइँदैछ । उनले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने बलियो सम्भावना छ ।
कांग्रेसबाट सरकारमा सहभागी हुन लागेका रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी पाउने पक्कापक्की भएको छ । शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणा पहिलो पटक मन्त्री बन्दैछिन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।
अजय चौरसिया, दीपक खड्का, ऐनबहादुर शाही पनि मन्त्री बन्ने चर्चा छ ।
शेखर–समूहलाई उदारतापूर्वक चार मन्त्रालय दिन देउवा यस पटक राजी भएका छन् । यो समूहले स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय पाउने बताइएको छ । जसमा तेजुलाल चौधरी, जीवन परियार, प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलगायतको चर्चा छ । यद्यपि, टुंगो लाग्न बाँकी छ । स्रोतका अनुसार आफ्नो गुटले ४ मन्त्रालय पाउने भएपछि शेखर–गगन समूह मन्त्री चयन गर्न आन्तरिक छलफलमा जुटेका छन् ।
प्रतिक्रिया