काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बाढी र डुबान, एक जनाको मृत्यु

काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ । बाढीले हालसम्म एक जनाको मृत्यु भएको छ भने किनारका बस्तीहरू डुबानमा परेका छन् ।
भक्तपुरको सल्लाघारी, जगाती क्षेत्रका बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरले बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभए पनि सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा क्षति पुगेको जनाएको छ ।
यता, बागमती नदीमा बाढी आउँदा विभिन्न क्षेत्र डुबानमा परेका छन् । केहीबेर अघि ललितपुरको च्यासलस्थित बागमती नदीको पुल नै पार गरेर पानी बगेको थियो । अहिले पानीको सतह घटे पनि पुल र सडकमा लेदो थुप्रिएकाले आवागमन असज भएको छ ।
बाढीले च्यासलमा रहेको फुटबल मैदानका साथै एमाले पार्टी कार्यालय, प्रहरी पोस्ट्लगायत स्थान पनि डुबानमा परेका छन् ।
त्यस्तै, शंखमूल, कुपण्डोल, सानेपा, कालीमाटीलगायत क्षेत्र पनि अत्यधिक वर्षापछि आएको बाढीले डुबेका छन् ।
बल्खु खोलामा एक जनाको शव भेटिएको छ । खोलामा आएको बाढीले बगाएर ती व्यक्तिको मृत्यु भएको प्रहरी अनुमान छ ।
मृत्यु हुनेमा ४५ वर्षीय राम सरुप महतो छन् । बाँके घर भएका उनी सकुमुबासी बस्तीमा बस्दै आइरहेका थिए ।
त्यस्तै, बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुरलगायतका क्षेत्र पनि डुबानमा परेका छन् ।
उपत्यकाको अर्को नदी विष्णुमतीमा पनि बाढी आएको छ । बाढीले नयाँबसपार्कलगायत किनारी क्षेत्रका घरहरूमा पानी पसेको छ ।
प्रतिक्रिया