NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

‘भावुक’ प्रचण्ड र ‘सोझा’ देउवालाई ओलीले झुक्याए : माधव नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नेजस्तो मिठा कुरा गरेर व्यवहार भने उल्टो गरेको आरोप लगाएका छन् ।

बोलीमा संविधान संशोधनको निहुमा मध्येरातमा हस्ताक्षर गरेर ओलीले दुई दलिय शासन ल्याउन खोजेको उनको आरोप छ । बहुदलीय व्यवस्थालाई बलियो बनाउन यसका त्रुटी कमजोरीलाई छलफलको विषय नै नबनाई अन्य दलको महत्वलाई लत्याएको उनले बताए ।

आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यसबाट आफूले ओलीको नियत प्रष्ट बुझेपनि उनका भनाईमा ‘सोझा’ शेरबहादुर देउवाले यो कुरा बुझेनन् । ‘हाम्रो शेरबहादुर माननिय सोझो हुनुहुन्छ । उहाँले बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, बुझ्न त फेरि सिपालु हुनुहुन्छ,’ उनले भने ।

शान्ति प्रक्रियालाई टुंग्याउनका लागि अध्यक्ष प्रचण्डले गरेको आँटको उनले प्रशंसा गरेका थिए । यस्ता आँट गर्दा कहिलेकाहीं धेरै छलाङ मार्दा पनि बिग्रिने गरेको उनले बताए । ‘कसैले मिठो कुरा गरिदिन्छ, त्यसमा फक्किहाल्नुहुन्छ । सँगै जाने स्वर्ग भनिन्छ, त्यसपछि पुगिन्छ नर्क,’ यसमा होस् गर्न उनले प्रचण्डलाई सुझाव पनि दिए ।

उनका भनाईमा मध्येरातमा सरकार परिवर्तन गर्न ओलीले भावुक प्रचण्ड र सोझा देउवालाई झुक्याएका हुन् ।

अन्य दल काम छैन भनेर भाष्य निर्माण भइरहेको आरोप लगाउँदै उनले यही अवस्था निरन्तरता भएमा बंगलादेशको अवस्था नेपालमा पनि निम्तिने खतराको संकेत गरे ।