NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते
वेथिति

वन कार्यालयका कर्मचारीकै मितेमतोमा ओखलढुंगामा काठ तस्करी !

स्थानीय सरकार बेखबर, सिडिओ भन्छन्– गलत गर्नेमाथि कारबाही हुन्छ

काठमाडौं । डिभिजन वन कार्यालयको मूलभूत कार्य वन–जंगलको संरक्षण र सम्वर्द्धन गर्नु हो । वन–जंगलको रक्षा र विकासका लागि सरकारले हरेक जिल्लामा यस्ता कार्यालय खडा गरेर कर्मचारीको प्रबन्धसमेत गरेको छ ।

तर ओखलढुंगामा भने वन–जंगलको संरक्षणमा जुट्नुपर्ने डिभिजन वन कार्यालयका कर्मचारीकै संलग्नतामा जंगलमा काटिएका रुखका काठ तस्करी भइरहेको पाइएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रका विभिन्न निजी तथा सामुदायिक वनहरूबाट कर्मचारीकै मिलेमतोमा काठ काटेर तस्करी भइरहेको हो ।

नगरपालिकाका सामुदायिक तथा निजी वन क्षेत्रबाट ठेकेदारले उत्तिस, चिलाउने, मौवालगायतका रूख काटिरहेकाे बताइन्छ । यसरी काटिएका काठ सबै बिक्री गर्नुपर्नेमा ५० प्रतिशतसम्म कम देखाएर ठेकेदार र कर्मचारीले बदमासी गरेका हुन् ।

काटिएका काठको परिमाण आधाभन्दा कम देखाएर बिक्री गर्दा राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने लाखौं रूपैयाँ राजस्व हानि भइरहेको छ ।

‘केही समययता ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सामुदायिक तथा निजी वन क्षेत्रबाट उतिस, चिलाउने, मौवालगायत जातका रुखहरू कटान गरी स्थानीय ठेकेदारहरूले डिभिजन वन कार्यालय, ओखलढुंगाका कर्मचारीहरू समेतसँग मिलेमतो गरी अवैध रूपमा बिक्री वितरण गर्ने गरेका छन्,’ स्रोतले भन्यो ।

तस्करीका यस्ता काठ ठेकेदारले बाहिरी जिल्लामा नलगी स्थानीय बजारमै बिक्री–वितरण गर्दै आइरहेका छन् । सिद्धिचरण नगरपालिकाभित्र सञ्चालित श्याम श्रेष्ठको न्यू श्रेष्ठ फर्निचर, तेजबहादुर सुनुवारको गणपति फर्निचर, फणीन्द्र श्रेष्ठको सुनगाभा फर्निचर, युवराज श्रेष्ठको जालपादेवी काष्ठ उद्योग, फुर्वा शेर्पाको शेर्पा फर्निचर उद्योग, चित्रबहादुर तामाङको चित्र फर्निचर उद्योग, गोविन्द श्रेष्ठको गोविन्द फर्निचर उद्योगलगायतका फर्निचरमा तस्करीका काठ बिक्री भइरहेको स्रोतको भनाइ छ । यी सबै फर्निचर नगरपालिकाको वडा नं. ११ र १२ मा सञ्चालित छन् ।

७ ठेकेदार जो संलग्न छन् तस्करीमा

नगरपालिका क्षेत्रका जंगलमा अनधिकृत ढंगले रुख कटान गरी तस्करी गर्ने कार्यमा ७ ठेकेदार संलग्न रहेको स्रोतको दाबी छ ।

जसमा छत्रबहादुर लिम्बू, रामबहादुर लिम्बू, खम्ब सिं राई, दिलेन्द्र नेम्वाङ, सूर्य अधिकारी, दुर्गाबहादुर कार्की र भीमबहादुर सार्की छन् । छत्र र राम संखुवासभाको चैनपुर नगरपालिका-३ र ६ का हुन् भने खम्ब इलामको फकफोकथुम गाउँपालिका-२, दिलेन्द्र पाँचथरको फाल्गुनन्द गाउँपालिका-२, सूर्य यावरक गाउँपालिका-५, दुर्गा धनकुटाको पाख्रिवास नगरपालिका-५ र भीम विराटनगर महानगरपालिका-१ का स्थायीवासिन्दा हुन् ।

यी ठेकेदारले वन डिभिजनका कर्मचारीलाई आर्थिक प्रलोभन देखाएर दोहन गरिरहे पनि स्थानीय सरकार र प्रशासनले नियन्त्रणतर्फ कुनै कदम उठाएका छैनन् ।

यसबारे जानकारी लिन हामीले डिभिजन वन कार्यालय, ओखलढुंगाका सूचना अधिकारी विश्वास काफ्लेलाई सम्पर्क गरेका थियौं । तर उनी उपलब्ध भएनन् । वन डिभिजन कार्यालय, ओखलढुंगामा २ वटा टेलिफोन लाइन रहेकोमा उक्त फोन पनि उठ्दैनन् ।

सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलकण्ठ विश्वकर्मा यसबारे पहिलो पटक सुनेको बताउँछन् ।

‘सामुदायिक वन स्थानीय सरकारको नभएर वन डिभिजनको क्षेत्राधिकारभित्र पर्छ । तैपनि आफ्नो क्षेत्रभित्र केही गलत भएको थाहा पाउँदा त्यसबारे हामीले सरोकार राख्छौं । तर सामुदायिक वनबाट काठ तस्करी सन्दर्भमा नगरपालिकालाई अहिलेसम्म कुनै जानकारी आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले भने ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल भने जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध काठ नियन्त्रणमा लिइरहेको बताउँछन् । यसमा संलग्न व्यक्तिबारे प्रमाण भेटेको खण्डमा प्रशासनले आवश्यक कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए ।

‘प्रहरीले ठाउँठाउँबाट तस्करीका काठ समाइरहेको छ । यसमा संलग्न ठेकेदारलगायत व्यक्तिबारे प्रमाण भेटिए जिल्ला प्रशासन आवश्यक प्रक्रिया अघि बढाउँछ,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष