NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

विदेशमा रहेका नेपालीलाई ओलीको आग्रह– जहाँ रहे पनि शिष्ट बनिदिनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई शिष्टताको परिचय दिन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले प्रवासका नेपाली संगठनका प्रतिनिधिसँगको भेटघाटका क्रममा यस्तो आग्रह गरेका हुन् ।

“नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो,” उनले भने ।

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाको स्वागतार्थ प्रवासी नेपाली संगठनद्वारा अमेरिकामा तय कार्यक्रम सुरक्षाको कारण देखाउँदै अन्तिमममा स्थगन गरिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै ओलीले घुमाउरो भाषामा शिष्ट बन्न नेपाली समुदायलाई अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैंका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताए ।

राजनीतिक प्रसङ्गमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताए ।

संविधान संशोधनको विषयमा दलहरुबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गरे ।

ताजा अपडेट

नेपालवाच विशेष