NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

फोहोर संकलन भइसकेपछि जरिवाना गरेर बालेनले स्टन्ट गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले शनिबार जागरणसभा राखेको दरबारमार्गको फोहोर संकलन भइरहेका बेला जरिवानाको पत्र काटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्टन्ट गरेको टिप्पणी गरेका छन् । आयोजकले फोहोर संकलन गरेर गाडी पठाउन आग्रह गरेपछि त्यसलाई अस्वीकार गरेर पत्र काटिएको दाबी उनको छ ।

‘कार्यक्रम समापनपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो,’ सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, ‘संकलन गरिएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो, मेयरको निर्देशनमा।’

आफ्नो कार्यक्रम पछि एमालेले कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा मेयरलाई हेक्का नभएको उल्लेख गर्दै उनले जागरणसभा यस्तै स्टन्टबाज गर्नेहरूलाई सचेत गराउन गरिएको बताए ।

मेयर शाह एमालेविरुद्ध परिचालित भएको गम्भीर आरोपसमेत पोखरेलले लगाएका छन् । शुक्रबार साँझ काटिएको पर्चाले त्यो कुरा प्रष्ट पारेको उनको भनाइ छ ।

‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले) का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ,’ बालेनमाथि आरोप लगाउँदै पोखरेलले लेखेका छन् ।

शुक्रबार राजधानीको दरबारमार्गमा नेकपा (एमाले) ले सरकार र पार्टीविरुद्ध आक्रमण भएको भन्दै जागरणसभा राखेको थियो । जागरणसभा सकिएको केहीबेरमा बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले एमालेबाट दरबारमार्ग क्षेत्रमा फोहोर गरिएको भन्दै फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम पत्र काटेर एमालेलाई एक लाख रूपैयाँ जरिवानाको जानकारी गराएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष