NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

महोत्तरीमा निर्वाचनको चहलपहल बढयो

महोत्तर । आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।

मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् ।

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् । यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ ।

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आफू जित्ने दाबी गर्छन्। अघिल्लो निर्वाचनमा ५८ मतले पारजित उनी यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क छन्। सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उमेद्वार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पाटीबाट त्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उमेद्वार छन्।

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए । सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष