सुनसरीको गढी–६, तेह्रथुमको लालीगुराँस–८, हेटौंडा–१२ र भीमदत्त–६ मा कांग्रेस विजयी

काठमाडौं । विभिन्न स्थानीय तहका चार वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । सुनसरीको गढी–६, तेह्रथुमको लालीगुराँस–८, मकवानपुरको हेटौंडा–१२ र कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस उम्मेदवार विजयी बनेका हुन् ।
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले सात सय ९४ मत पाए ।
त्यसैगरी, तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत ल्याए ।
उता, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार एक सय सात मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गरे ।
प्रतिक्रिया