बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक
बागमती । यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो ।
उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गरेका हुन् ।
सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेमा माघ २३ गते बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ । संसदीय प्रक्रियालाई प्रभावकारी बनाउँदै प्रदेशसभालाई नियमित सञ्चालन गर्ने उद्देश्यले सभामुख पाठकले सबै दललाई संवादका लागि आह्वान गरेका हुन् ।
सर्वदलीय बैठकले प्रदेशसभाको आगामी कार्यसूचीलाई सहज बनाउनेमात्र होइन, दलहरूबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया