सर्लाहीमा रेबिजको भ्याक्सिन अभाव

त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर उनले भ्याक्सिन लगाए । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुगे । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरि निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाए । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाए ।
शुक्रबार अस्पताल परिसरमा भेटिएका उनले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताए । अस्पतालले रु दुई सय लिने भ्याक्सिन बाहिर रु छ सय ५० तिर्नु पर्दा महँगो परेको उनले बताए ।
“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउँछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ,” उनले भने ।
चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ ।
“कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उनले भने, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उनको भनाइ छ ।
बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उनलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु–याए । तर, उनले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाएनन् । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए ।
त्यसपछि उनी लालबन्दी नगरपालिकाको एक निजी क्लिनिकमा पुगेर भ्याक्सिन लगाए । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिए ।
भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उनले बताए । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् । जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।
जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।
औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरे पनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउँछन् ।
चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भए पनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उनले बताए ।
भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताए । पहिला धेरै कोटा भए पनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उनले बताए । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उनको भनाइ छ ।
गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया