NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

याङवरक गाउँपालिका : कार्यसम्पादनमा उत्कृष्ट, विपक्षी पनि सन्तुष्ट

काठमाडौं। पाँचथरको याङवरक गाउँपालिका गतिलो काम गरेर चर्चामा आएको स्थनीय तह हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका उत्कृष्ट दशभित्र परेको छ । सय पूर्णांकमा यो गाउँपालिकाले ७३.११ अंक पाएको छ ।

गत चुनावमा याङवरक गाउँपालिकामा एमालेले वर्चस्व बनाएको थियो । पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको विपक्षी दलले पनि प्रशंसा गरेका छन् । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा गत पाँच वर्षमा भएका कामको पनि चर्चा भइरहेको छ । गत चुनावमा यो गाउँपालिकाको अध्यक्षमा एमालेका लेखनाथ घिमिरे र उपाध्यक्षमा पनि एमालेकै कमलकुमारी योङहाङ विजयी भएका थिए । यद्यपि, उपाध्यक्ष योङहाङ भने अहिले एकीकृत समाजवादीमा लागेकी छिन् ।

गाउँपालिकाका राम्रा काम

यो गाउँपालिकाले बजेटमा नै फरक–फरक शीर्षक र क्षेत्र समेटेर योजना बनाएको छ । आर्थिक, सामाजिक, वातावरण तथा विपत् क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह भनेर बजेटलाई प्राथमिकतामा राखिएको छ । १५ शय्याको आधारभूत अस्पताल बनाउन थालिएको छ । यस्तै, गाउँपालिकाको पहिचानका रूपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । यसलाई मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तयारी छ । तीन ब्याडमिन्टन कोर्ट, एउटा भलिबल कोर्टसहितको पाँच सय दर्शक अटाउने कबर्ड हल निर्माणको काम पनि अघि बढेको छ । गाउँपालिकाअन्तर्गतका सेवा प्रवाहलाई क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गर्दै लगिएको छ ।

आगामी ०८१ सालसम्म उपलब्ध स्रोत र साधन तथा प्रविधिको सदुपयोग गरी सामाजिक न्याय, सुशासन, गरिबी निवारण एवं समावेशी विकाससहितको समावेशी समाज निर्माण गर्नुका साथै नेपालको नमुना गाउँपालिका बनाउने लक्ष्य राखिएको छ ।

यो गाउँपालिकाले गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण तथा खाद्य सुरक्षा, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, आन्तरिक राजस्व वृद्धि तथा वित्तीय सुशासन, पर्यटन प्रवद्र्धन र विकास, यातायात व्यवस्थापन तथा सडक सञ्जालको स्तरोन्नतिजस्ता प्राथमिकता निर्धारण गरेको छ । त्यहीअनुसार काम पनि अघि बढेको छ ।

विपक्षी पनि सन्तुष्ट

गाउँपालिकाका पदाधिकारीले पाँच वर्षको अवधिमा एकदमै ठूला काम त गरेका छैनन्, तर प्रयास भने गरेका छन् । उनीहरूले नराम्रो काम खासै गरेका छैनन् । त्यसैले विपक्षी पनि सन्तुष्ट देखिन्छन् ।

कांग्रेसका स्थानीय नेता शेरबहादुर नुगाले गाउँपालिकाको हालको नेतृत्वले सकारात्मक काम गरेको भन्दै प्रशंसा गरे । यद्यपि, उनले धेरै काम अझै गर्न बाँकी रहेको भन्दै आगामी दिनमा त्यसलाई पूरा गर्ने बताए ।

माओवादी केन्द्रका नेता होम जबेगू (सूर्यमान)ले गाउँपालिकाको कामलाई आंशिक रूपमा मूल्यांकन गर्न सकिने बताउँछन् । ‘साह्रै राम्रो पनि गरेका छैनन् र नराम्रो पनि भन्न मिल्दैन,’ उनले भने, ‘तर, यहाँका जनप्रतिनिधिले सिक्नुपर्ने धेरै नै छ । कानुनका विषयमा उनीहरूले धेरै जानकारी राख्न सकेनन् ।’

पूरा नभएका प्रतिबद्धता

याङवरक गाउँपालिकाले योजना राम्रा बनाए पनि त्यसअनुसार सबै काम गर्न भने सकेको छैन । अधिकांश बजेट रकमान्तर गर्नु, लक्षित वर्गलाई नसमेट्नु र समेटे पनि बजेट कार्यान्वयनमा ध्यान नदिनु पदाधिकारीको नकारात्मक पक्ष हो ।

घोषणापत्रमा उल्लेख गरिएको सूचना प्रविधि तथा सञ्चार विकासको काम सन्तोषजनक रूपमा अघि बढेको छैन । भूउपयोग तथा भूमि व्यवस्थापनका लागि योजना पनि बन्न सकेन । यातायात व्यवस्थापन तथा सडक सञ्जाल स्तरोन्नतिमा ठूलो परिवर्तन गर्ने प्रतिबद्धता पनि पूरा भएन । सडक र यातायात अहिले पनि पुरानै अवस्थामा छ । पर्यटन विकासका लागि महत्वाकांक्षी योजना बनाइयो, तर काम भएन । कृषिमा आधुनिकीकरणको योजना पनि कार्यान्वयन हुन सकेको छैन ।

बजेटलाई समान रूपमा वितरण नगरेको भन्दै केही वडाध्यक्षले गुनासो गरेका छन् । भौतिक विकासका केही गतिविधि देखिए पनि नागरिकको आर्थिक स्थिति उकास्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम नल्याएकोमा पनि आलोचना हुने गरेको छ ।

अध्यक्ष–उपाध्यक्ष सम्बन्ध

गाउँपालिकाका अध्यक्ष घिमिरे र उपाध्यक्ष योङहाङ दुवै एमालेबाट निर्वाचित भएका हुन् । तर, अहिले दुई फरक–फरक पार्टीमा छन् । उपाध्यक्ष एकीकृत समाजवादीमा लागेकी छिन् । यसबीचमा काम गराइका क्रममा दुईबीच विवाद भने भएको छैन । उनीहरूबीच सम्बन्धमा तिक्तता नरहेको स्थानीय पनि बताउँछन् ।

बजेट र प्राथमिकता

याङवरक गाउँपालिकाकाको बजेट ४० करोड हाराहारी छ । विकास निर्माणका लागि छुट्याइएको बजेट पूरै खर्च हुन सकेको छैन । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणलाई प्राथमिकता दिने गरिएको छ ।

दुवै पदाधिकारी सन्तुष्ट

अध्यक्ष लेखनाथ घिमिरे कामबाट सन्तुष्ट रहेको बताउँछन् । पहिलो जनप्रतिनिधि भएकाले पाँच वर्षको अवधिमा बाटो कोर्ने काम भएको उनको भनाइ छ । जनताको समस्या बुझेकाले धेरै काममा आफैँ र नागरिक पनि सन्तुष्ट रहेको उनले बताए । तर, कोरोना महामारीले दुई वर्ष अरू विकास निर्माणको काम गर्न नदिएको उनको भनाइ छ । ‘हामीले स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकताका साथ काम गर्ने मौका पायौँ,’ घिमिरेले भने, ‘म मेरो काम गराइबाट असन्तुष्ट हुने ठाउँ छैन ।’

अध्यक्ष घिमिरे पाँच वर्षको कार्यकाल सिकाइका हिसाबले सफल भएको ठान्छन् । ‘सबै कुरा नयाँ थियो, कानुन बनाउनुपर्ने, जनप्रतिनिधि आफैँ पनि धेरै विषयमा जानकार थिएनौँ,’ घिमिरेले भने, ‘सुरुमा केही समस्या भए पनि बिस्तारै समाधान गर्दै गयौँ । नागरिकको अपेक्षा धेरै थियो । तर, केही सम्बोधन भने गर्न सकेका छौँ ।’

उपाध्यक्ष कमलकुमारी योङहाङ पनि आफ्नो कामबाट सन्तुष्ट छिन् । ‘हामी पहिलो जनप्रतिनिधि हौँ । भवन बनाउनेदेखि कानुन बनाउनेसम्मका काम भए,’ उनले भनिन्, ‘अझै केही गर्न त बाँकी नै छ । तर, यति काम गर्न पाएकोमा सन्तोष नै मान्छु ।’ समस्याको समाधान सबै जनप्रतिनिधि मिलेर गरेको र कर्मचारीको साथले अझै सहज बनाइदिएको उनको भनाइ छ ।

भूगोल र जनसंख्या

नेपालमा सात सय ४४ स्थानीय तह लागू हुँदा साबिकका ओयाम, च्याङथापु, फलैँचा, नागी र थर्पु गाउँ विकास समितिलाई समेटेर याङवरक गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । तथ्यांक विभागको ०७८ सालको प्रारम्भिक तथ्यांकअनुसार यहाँको कुल जनसंख्या १६ हजार आठ सय २८ छ । यसको क्षेत्रफल २०८.६३ वर्गकिलोमिटर रहेको छ भने गाउँपालिकाको केन्द्र साबिकको थर्पु गाविसको कार्यालयमा छ ।