ऋणले बदलिएको रिताको जीवन– गृहिणीबाट उद्यमी

काठमाडौं । व्यापार, व्यवसाय वा कुनै उद्यम गर्ने रहरमा छेकबार बनेर प्रायः ठिङ्ग उभिएको हुन्छ, लगानी । भर्खरै केही गरौं भन्ने सोचको पालुवा हालेकाहरूमा मात्र होइन, उद्यम, व्यवसायमा जरा गाडिसकेकाहरू पनि लगानीले आलसतालस पर्छन् ।
ऋणपान त्यस्तै अप्ठ्यारो र उपायविहीन अवस्थाको औषधि हो ।
ऋणलाई सदुपयोग गरेर उद्यमको सगरमाथामा झण्डा फहराउने बेहिसाब छन् ।
र पनि नेपाली समाजमा ऋणप्रतिको बुझाइ र धारणा बदलिन सकेको छैन । यसबारेको भाष्य सकारात्मकभन्दा ज्यादा नकारात्मक छ ।
ऋण, रोग र शत्रु समाप्त गर्नुपर्छ ।
ऋण, रोग र अग्नि कहिल्यै कसैलाई नलागोस् ।
ऋणप्रतिको यस्तै गलत भाष्यका कारण आफ्नो बहीखाता धनात्मक भएको हामीलाई मन पर्छ । ऋणात्मक हुँदा चाहिँ ठीक उल्टो भय र आतंकले थिचिरहेको हुन्छ ।
शून्य अवस्थाबाट उद्यमको पोखरीमा हेलिएकी रिता भुजेललाई भने ऋणदेखि कहिल्यै डर लागेन । गाउँ, समाज, साथी, संगतीे उनको आर्थिक हैसियतमाथि प्रश्न गरेर सरसापट दिन हिचकिचाउँथे । तैपनि उनले चोकेमा ऋण काढेर सपनाको डुंगा खियाउने प्रयास छाडिनन् । ऋण गरेरै डेरी खोलिन्, साझेदारीमा कृषि फार्म र होमस्टे सञ्चालन गरिन् । कुनै बेला गृहणीका रूपमा खुम्चिएर बसेकी उनै रिताले अहिले ऋणको मद्दतमा व्यावसायिक सफलता त चुमेकी छन् नै आफ्नो परिचय समेत फराकिलो बनाउँदै लगेकी छन् ।
‘पहिले मलाई कसैले ऋण पत्याउँदैन थिए । व्यवसाय गर्ने सोच आएपछि एकैचोटि ७ लाख झिकेँ,’ रिताले आफ्नो व्यावसायिक यात्रा स्मरण गरिन्, ‘व्यापार व्यवसाय राम्रो चलेकाले अब धेरै बाँकी छैन ।’ व्यवसाय विस्तारका लागि थप रकम जोहो गर्ने सोचमा रहेकी रिता राम्रो कामका लागि नडराइकन ऋण लिन सबैलाई आग्रह गर्छिन् ।
डेरीले बदलिएको जीवन
रितासँग केही गर्नुपर्छ भन्ने हुटहुटी पहिल्यैदेखि थियो । तर श्रीमान् नेपाली सेनामा जागिरे भएका कारण काँधमा आएको पारिवारिक जिम्मेवारीले उनी फैलन र फक्रन पाएकी थिइनन् । साना केटाकेटीको रेखदेख, घरायसी काममै उनको दिनचर्या बित्थ्यो ।
‘पहिला श्रीमान् नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो । घरमा काम गर्नुपर्ने भएकाले बाहिरतिर चिहाउन पाइएन,’ रिता विगततिर फर्किइन् ।
जब श्रीमान्ले सैनिक सेवाबाट अवकास रोजे, त्यसपछि बल्ल रिताको चाहनाको दैलो उघारियो ।
तर के गर्ने ? कसरी गर्ने ? जागिरे र गृहणी उनीहरूका लागि यो महत्त्वपूर्ण निर्णय लिन सकस प–यो ।
विकल्पबारे केही समय उनीहरूबीच माथापच्ची चल्यो । देशमै केही गर्ने या विदेशिने ? विकल्पबारे घोत्लिएका भुजेल दम्पतीले निचोड निकाले– विदेश नजाने, देशमै बसेर दूध डेरी खोल्ने ।
सपना देख्न सहज हुन्छ । सपनाले जति रोमाञ्चक मानिसलाई अन्य कुराले सायदै बनाउँछ । तर जब सपनालाई विपनामा परिणत गर्ने यात्रा सुरु हुन्छ, त्यसपछि नसोचेको भीर, पहाड, कुइनेटासँग साक्षात्कार हुन्छ ।
देशमै केही गर्ने सदिक्षा पालेका भुजेल दम्पतीको सपनाको जहाज चलाउन पनि सजिलो थिएन । नेपाली सेनाबाट अवकाश भए पनि बचत खासै नभएकाले लगानीको विषयले सुरुमै लपेट्यो ।
‘अघि बढ’ भनेर हौसला दिने श्रीमान साथमा थिए । रिताले हिम्मत जुटाइन् र लघुवित्तबाट ७ लाख रूपैयाँ ऋण लिइन् । उनले अहिले जति पनि व्यावसायिक सफलता हात पारेकी छन्, त्यसको कारण त्यही सात लाख रूपैयाँ ऋण हो ।
कुनै पनि उद्यम तथा व्यवसाय सञ्चालन गर्न ज्ञान, सीप र अनुभव आवश्यक हुने भए पनि भुजेल दम्पतीका लागि डेरी नितान्त नयाँ विषय थियो । यो व्यवसाय न हिजो बाबुबाजेले गरेका थिए न उनीहरूले । त्यही अनुभवविहीनताका कारण निकै अप्ठ्यारा परिस्थितिसँग जुध्नुपरेको सम्झना भुजेल दम्पतीसँग छ । ‘एक क्यान दूध लिएर काठमाडौंसम्म पुगेको अनुभव पनि हामीसँग छ,’ रिताले त्यो असहज परिस्थिति सम्झिइन् ।
भनाइ नै छ, पोखरीमा पसेपछि पौडिन आफैं सिकिन्छ ।
भुजेल दम्पतीका लागि डेरी व्यवसाय नयाँ थियो, तर सिक्नै नसकिने थिएन । डेरी सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान, सीप उनीहरूले सिक्दै गए । दूधका बाइप्रोडक्ट बनाउन थाले । आफूहरूले सञ्चालन गरेको डेरीले त्यसपछि बल्ल सही बाटो समातेको रिता सुनाउँछिन् ।
डेरीमा रिताले स्थानीयको दूध संकलन गर्ने गरेकी छन् । त्यसरी संकलित दूध उनले काठमाडौंमा बिक्री गर्ने गरेकी छन् । उनले एउटा गाईसमेत पालेकी छन्, जसले बिहान–बुेलुका गरेर दैनिक २४ लिटर दूध दिन्छ । डेरीमा अन्य कामदार नराखे पनि दूध बिक्रीका लागि गाडी चलाउन चालक राखेकी छन् ।
भुजेल दम्पतीले दूध बिक्रीका अलावा घिउ, खुवा, पनिरलगायत दूधका बाइप्रोडक्ट पनि उत्पादन गर्ने गरेका छन् । डेरीबाट पछिल्लो ६ वर्षमा राम्रो मुनाफा गर्दै आइरहेको बताउने रितालाई हामीले प्रश्न ग–यौं– यसबाट मासिक आम्दानी कति हुन्छ ?
प्रश्न भुइँमा खस्न नपाउँदै रिता मुस्काइन्– सबै खर्च खटाएर मासिक ६० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म आम्दानी हुन्छ ।’
डेरीपछि फार्म र होमस्टेमा लगानी
सूर्यविनायक–१०, भक्तपुरको ३० रोपनी क्षेत्रफलमा लमतन्नसँग फैलिएको छ, महाकालेश्वर एग्रो फर्म । फार्ममा कुुखुुराका चल्ला, हाँस मात्रै हुर्किरहेका छैनन्, प्याज, लसुुन, गोलभेडा, काउली, फर्सीलगायतका तरकारी लटरम्मसँग फलिरहेका छन् ।
डेरी उद्योगमा सफलता पाएपछि भुजेल दम्पतीले गरेको अर्को तरक्की हो यो । तर यसमा भने उनीहरूसँगै अन्य २ जनाको पनि लगानी छ । यो फार्ममा उनीहरूले कुखुरा, हाँस पालन गरिरहेका छन् । त्यस्तै, काठमाडौं उपत्यकाका उपभोक्तालाई लक्ष्य गरेर सिजनअनुसारका तरकारी पनि उत्पादन गरिरहेका छन् ।
रिताको फार्मभन्दा केही माथि चिटिक्कको होमस्टे देख्न सकिन्छ । पिकनिक र पारिवारिक जमघटका लागि त्यहाँ मानिसको आउजाउ चलिरहन्छ ।
शहरी कोलाहलबाट मुक्ति खोज्दै आइपुग्नेका लागि सुस्ताउन मिल्ने होमस्टेको परिकल्पनाकार पनि भुजेल दम्पती र उनका साझेदारहरू हुन् । फार्मको उत्पादन त्यही खपत गर्ने हेतुले होमस्टे सञ्चालन गरिएको हो । फार्म र होमस्टेमा उनीहरूको करिब डेढ करोड लगानी छ ।
‘यो फार्म र होमस्टे वित्तीय संस्थाको केही ऋण र ३ जनाको संयुुक्त लगानीले खोलेको हौं, बैंकबाट १५ लाख कर्जा लिएको छौं,’ फार्म र होमस्टेको लगानीबारे रिताले खुलाइन् ।
फार्मबाट सबै खर्च कटाएर महिनामा ३ देखि साढे ३ लाख बचत हुने गरेको छ । उनीहरूले फार्म र होमस्टेमा ११ जनालाई रोजगारीसमेत दिएका छन् । होमस्टे र तरकारी खेतीमा भने रिताभन्दा श्रीमान नै बढी सक्रिय हुन्छन् ।
फेरिएको दृष्टि
व्यावसायिक सफलताको सिढी उक्लँदै गरेकी रितालाई पहिले गाउँघरमा ऋण माग्न जाँदा कसैले पत्याउँदैनथे । डेरी सञ्चालका क्रममा हण्डर ठक्कर खाएपछि आफ्नै दिदीबहिनीले समेत यसले गरिखान्न भनेको सम्झना उनलाई ताजै छ ।
‘पहिला ऋण खोज्दा गाउँघरमा कसैले पत्याउँदैन थिए,’ रिता भन्छिन् । आफूले व्यवसाय गर्न थालेपछि भने विगतको नजरिया फेरिएको उनको अनुभव छ । यसले उनको आत्मविश्वास बढाएको छ ।
‘पहिला घरमा बसेर गाई, बाख्रा, खेतीपानी गर्थेँ, बालबच्चा हेर्थेँ । त्योबेला र अहिले धेरै फरक पाउँछु,’ रिता प्रसन्न सुनिइन्, ‘पहिला आफूलाई चल्न गाह्रो हुन्थ्यो, अहिले आफ्नै हातमा पैसा छ, दुुःख गर्न, खट्न सक्दा राम्रो हुन्छ । अरूको भर पर्नुु पदैन ।’
व्यवसायमा लागेर ‘गरे के हुँदैन भन्ने’ प्रमाणित गरेकी रिता अहिले आममहिलाको प्रेरणा बनेकी छन् । ‘चुलोचौकाबाट माथि उठेर महिलाले अब आफैंले केही गर्नुपर्छ,’ कुराकानीको बिट मार्दै रिताले भनिन् ।
प्रतिक्रिया