आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।
सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । उनले भने, “शिक्षकका मागमा सम्झौता गरिन्छ, तर कार्यान्वयन नहुँदा बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको ढुकुटी बलियो बनाउन के गर्न सकिन्छ भन्नेबारे गम्भीर सोच आवश्यक छ ।”
सांसद अब्दुल खाँनले महिला तथा बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने, उत्पादनको मूल्य निर्धारण गर्नुपर्ने र अस्पतालहरूको सुधार आवश्यक रहेको बताए । उनले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।
सांसद दीपक कार्कीले सरकारले विकासका लक्ष्यप्राप्त गर्न इच्छाशक्ति र इमान्दारिताको अभाव देखिएको टिप्पणी गरे। उनले भने, “झन्झटिलो कार्यविधिका कारण लक्ष्य हासिल गर्न कठिन भएको छ । तीन तहका सरकारबीच दोहोरोपन हटाएर, सही किसानलाई अनुदान सुनिश्चित गरिनुपर्छ । नियमन र नियन्त्रण कडा हुन आवश्यक छ ।”
सांसद सर्वेन्द्रनाथ शुक्लाले शिक्षाको गुणस्तर सुधार गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने धारणा राखे । उनले युवालाई देशमै अध्ययन गर्ने वातावरण बनाउनसके विद्यार्थी पलायन रोक्न सकिने पनि बताए ।
सांसद प्रेम सुवालले मौलाउँदै गएको भ्रष्टाचारले सुशासन कायम हुन नसकेको भन्दै बेरुजु छानबिन स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने माग राखे ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया