भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

काठमाडौँ – भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४/२५ मा ६.५ प्रतिशत कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ।
अघिल्लो आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ९.२ प्रतिशतले वृद्धि भएको थियो।
कमजोर उत्पादन क्षेत्र, कडा मौद्रिक नीति, तथा गत वर्षको अधिकांश समय शहरी उपभोक्ताको भावनामा आएको सुस्ततासँग विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारत जुधिरहेको थियो।
पछिल्लो दुई त्रैमासिक अवधिमा अर्थतन्त्रमा सुधार देखिएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिले दीर्घकालीन पुनरुत्थानमा जोखिम निम्त्याएको छ।
नयाँ दिल्लीले वासिङ्टनसँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको छ। अमेरिकाले ‘पारस्परिक कर’को संज्ञा दिएको कर नीतिबारे वार्ताले ट्रम्पको करनीतिबाट हुनसक्ने गम्भीर असर न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार वार्षिक वृद्धिको आँकडा र स्थिर मुद्रास्फीति भारतको केन्द्रीय बैंकलाई आगामी समीक्षा बैठकमा ब्याज दर सहज राख्ने निर्णयमा विश्वस्त पार्नेछ।
शुक्रबार सार्वजनिक भएको जीडीपी तथ्याङ्क ६.३ प्रतिशतको विश्लेषक अनुमानभन्दा केही माथि देखिए पनि सरकारले वार्षिक रूपमा ६.५ प्रतिशतको वृद्धि प्रक्षेपण गरेको छ।
जनवरी–मार्च त्रैमासिक तथ्याङ्कअनुसार यो आर्थिक वर्षकै सबैभन्दा छिटो वृद्धि देखिएको छ। जीडीपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले वृद्धि भएको छ, जुन ६.८ प्रतिशतको अनुमानभन्दा उच्च हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मार्च त्रैमासिक वृद्धिमा बढ्दो निर्माण क्षेत्रको योगदान रहेको छ।
भारत अहिले पनि तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र भए तापनि आर्थिक वृद्धिलाई थप सशक्त बनाउन पर्याप्त राम्रो तलब दिने रोजगारी सिर्जना गर्नु आवश्यक रहेको विज्ञहरू बताउँछन्।
गत वर्ष आर्थिक गतिविधिमा आएको मन्दीका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई आयकरमा १२ अर्ब अमेरिकी डलरको कटौती गर्न बाध्य पारिएको थियो।
भारतीय रिजर्भ बैंकले फेब्रुअरीमा पाँच वर्षपछि पहिलो पटक ब्याज दर घटाएको थियो र अप्रिलमा पुनः कटौती गरेको थियो।
हालै एक सरकारी अधिकारीले भारतले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको दाबी गरेपछि यस विषयमा सार्वजनिक बहस सुरु भएको छ।
तर, अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानअनुसार यो परिवर्तन वर्षको अन्त्यसम्म हुने सम्भावना छैन।
ताजा अपडेट
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
-
सुदूरपश्चिमका स्थानीय तहमा राजस्व वृद्धि कसरी ?
-
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
-
गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली
प्रतिक्रिया