NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एमालेमा कति छ विद्याको तागत ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी नेतृत्वमा पुग्ने महत्त्वाकांक्षासहित राजनीतिमा फर्किएपछि नेकपा (एमाले) मा फरक परिदृश्य देखापरेको छ । विगतमा पार्टीभित्र रहेको अलग समूहलाई निस्तेज पारेका ओलीले भण्डारीको पुनरागमनसँगै फेरि उस्तै प्रतिकूल अवस्था सामना गर्नुपर्ने संकेत देखिएको छ । केन्द्रदेखि जिल्लासम्मै ओली र भण्डारीका पक्षमा नेता तथा कार्यकर्ता विभाजित हुने क्रम सुरु भएको छ ।

एमालेको सबैभन्दा शक्तिशाली शीर्ष कमिटी सचिवालय नै दुई कित्तामा बाँडिएको छ । पदाधिकारी सम्मिलित १९ सदस्यीय एमाले सचिवालयमा ओलीको पक्षमा उनीसहित ७ जना देखिएका छन् । पाँच जना भण्डारीको पक्षमा खुलेका छन् । सचिवालयका ६ सदस्य चाहिँ पर्ख र हेरको अवस्थामा छन् भने एक सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् ।

उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव लेखराज भट्ट र पद्माकुमारी अर्याल संस्थापन पक्षमा कटिबद्ध देखिएका छन् । यसमध्ये थापा र भट्ट माओवादी पृष्ठभूमिका हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर बनेको तत्कालीन नेकपा पार्टीलाई अदालतले खारेज गरिदिएसँगै उनीहरू पूर्वपार्टीतिर नलागी एमालेमा गएका थिए । एमाले ब्युँतिएपछि एमालेमा ओली र माधवकुमार नेपालको दुई लाइन संघर्ष चलेको थियो । त्यसबेला पनि दुवै जनाले ओलीलाई साथ दिएका थिए । यद्यपि, पार्टीमा भट्टले जिम्मेवारी पाए पनि थापा ओझेलमा छन् । भुटानी शरणार्थी प्रकरणमा तानिएकाले बादलको ओझ पहिलेजस्तो छैन ।

भण्डारीको पुनरागमनले देउवा किन भयभित ?

राष्ट्र प्रमुख दलीय राजनीतिमा फर्कंन नहुने तर्कबीच एमाले नेतृत्वमा रुचि देखाएकी भण्डारीलाई सचिवालयका पाँच जनाले साथ दिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र रघुवीर महासेठ सुरुमै भण्डारीको पक्षमा खुलेका हुन् ।

एमालेका ६ पदाधिकारी भने अझैसम्म ओलीलाई साथ दिने कि भण्डारीलाई भन्नेमा पर्ख र हेरको अवस्थामै देखिन्छन् । यसअघि एमालेको शक्ति संघर्षमा माधवकुमार नेपाललाई साथ दिएर अन्तिममा संस्थापनतिर ओत लागेकी अष्टलक्ष्मी शाक्य यो पालि कतै पनि खुलेकी छैनन् । एमाले स्रोतका अनुसार, अहिले कतै पनि नखुले पनि उनी भण्डारीतिर लाग्ने सम्भावना प्रवल छ ।

ओलीको विश्वासपात्र मानिने शालिन र सन्तुलित नेताको छवि निर्माण गरेका विष्णु पौडेल पनि कुनै समूहमा लागेका छैनन् । अर्का उपाध्यक्ष गुरु बराल पनि तटस्थ छन् । सचिवत्रय पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा कतै नलागेकाले उनीहरूले लिने निर्णयलाई एमालेभित्र चासोका साथ हेरिएको छ । यी नेताहरू तत्कालै एमालेभित्रको ध्रुवीकरण प्रक्रियामा सामेल हुने सम्भावना कम छ । भदौमा पार्टी विधान महाधिवेशन तय गरिएकाले त्यतिबेला भने उनीहरूले आफ्नो लाइन क्लियर गर्नुपर्नेछ ।

विद्यार्थी राजनीतिबाट स्थापित सचिव भट्टराई यसअघि भण्डारी निकट रहे पनि यसपालि तटस्थ बस्नुलाई अर्थपूर्ण मानिएको छ । प्रखर ढंगले शक्ति संघर्षमा सामेल हुँदा संस्थापनबाट लखेटाइ भेटेकाले यस पटक उनले दुःखको बाटो रोज्ने हिम्मत नगरेको चर्चा एमाले पंक्तिमा चलेको छ ।

तटस्थलाई तान्ने रणनीति

६ पदाधिकारी कतै पनि नदेखिएकाले दुवै पक्ष उनीहरूलाई आफ्नो खेमामा तान्ने दाउमा छन् ।

एमाले स्रोतका अनुसार, सचिवालयमा आफ्नो उपस्थिति सशक्त पार्न दुवै समूह संवाद तथा छलफलमा लागिरहेका छन् । पर्ख र हेरको अवस्थामा रहेका नेताहरू सन्तुलित र उदार स्वभावका भएकाले उनीहरूमध्ये अधिकांशले भण्डारीलाई दिने अनुमान गरिएको छ ।

केन्द्रीय कमिटी र जिल्ला तहमा पनि ध्रुवीकरण

एमाले सचिवालयमा मात्र होइन, केन्द्रीय कमिटी र जिल्ला तहमा पनि ध्रुवीकरणले गति लिन थालेको छ ।

केन्द्रीय कमिटीका ओली निकट भनेर विगतमा चिनिएका नेताहरू नै भण्डारीको पक्षमा लागेका छन् । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा र अर्का पूर्वमन्त्री कर्ण थापा भण्डारीलाई स्थापित गराउन खुलेरै मैदानमा उत्रिएका छन् । स्थायी कमिटी सदस्य एवं माले कोशी प्रदेश इञ्चार्ज शेरधन राई पनि भण्डारीले एमाले नेतृत्व लिउन् भन्ने पक्षमा छन् ।

सचिवालय र केन्द्रीय कमिटीको जस्तै विभाजनको हावा जिल्लातिर पनि चल्न थालेको छ । केही जिल्लामा भण्डारी समूह पहिलेदेखि नै बलियो देखिएको छ । गत फागुनमा सम्पन्न मोरङ जिल्ला अधिवेशनमा भण्डारी निकट अजम्बर राई नेतृत्वको समूह विजयी भएको थियो । विराटनगर कमिटीमा ओली र भण्डारी पक्ष आमनेसामने भएकोमा विद्या समूहकै पल्लाभारी भएको थियो । स्रोतका अनुसार एमालेको केन्द्रदेखि जिल्ला कमिटीसम्म भण्डारीको राम्रो उपस्थिति छ । ओलीले स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्दै आफ्नै समूहका नेतालाई पनि चिढाइरहेका छन् । फरक विचार राखेकालाई त उनले निषेध नै गर्दै आइरहेका छन् । विभिन्न कारणले ओलीप्रतिको असन्तुष्टि चरम अवस्थामा रहेकाले आगामी महाधिवेशनमा भण्डारीले राम्रो साथ पाउने अनुमान जानकारहरूको छ ।

‘विद्या र ओली पहिले एउटै गुटका हुन् । खासमा उनीहरूको स्कुल पनि एउटै हो । तर ओलीबाट एमालेका धेरै नेता तथा कार्यकर्ता चिढिएकाले त्यो असन्तुष्टिको फाइदा विद्यालाई पर्ने देखिन्छ,’ एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

पार्टीमा भूमिकाको खोजी

दुई कार्यकाल राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले एमालेमा भूमिका खोजिरहेकी छन् । महाधिवेशनपूर्व एमालेको कुनै भूमिकामा फर्कंने र नेतृत्व हत्याउने उनको दाउ छ ।

तर एमालेको संस्थापन उनीसँग सशंकित बनेको छ । त्यसैले संस्थापन पक्ष भण्डारीलाई एमालेमा फर्किनै नदिने रणनीतिमा लागेको छ ।

संस्थापन विद्यालाई रोक्न कम्मर कसेर लागे पनि उनलाई कुन भूमिका दिने भन्ने विषयले एमाले केन्द्रीय कमिटी बैठकमा प्रवेश पाउँदै छ । एमाले केन्द्रीय कमिटी बैठक यही साउन २ गतेबाट बस्दैछ ।

जबजलाई ब्राण्डिङ गर्ने दाउ

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले नेपालको मौलिकतामा नयाँ अवधारणा अघि सारेका थिए– जनताको बहुदलीय जनवाद (जबज)

यसमा कतिपय नेताहरूले फरक मत राख्दै आइरहेका भए पनि एमालेले यसलाई आफ्नो सम्पत्तिका रूपमा ग्रहण गर्दै आइरहेको छ । यद्यपि, यसको मर्मबोध र कार्यान्वयनमा भने उतिसारो दिलचस्पी देखिँदैन ।

सवारी दुर्घटनामा मदनको मृत्यु भएपछि राजनीतिमा होमिएकी विद्या आफ्नै दिवंगत पतिले विकास गरेको जबजलाई ब्रान्डिङ गरेर अघि बढ्ने तयारीमा छन् । उनले पछिल्ला केही सार्वजनिक कार्यक्रममा त्यसको संकेत समेत गरिसकेकी छन् । भण्डारीको आगामी रणनीति बुझेका ओली यसबाट सशंकित हुन थालेका छन् । मदन भण्डारी फाउण्डेसनले केही दिनअघि गरेको कार्यक्रममा औचित्यहीन ढंगले उनले मदनमाथि लागेका आरोप कोट्याएको घटनालाई त्यसैसँग जोडेर हेर्न थालिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष