NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी छिन् ।

भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि दूतावासलाई निर्देशन दिएकी हुन् ।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका नागरिक परेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर २ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू बाढीपहिरोपछि सम्पर्कमा नरहेको जनाएका छन् ।

अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् ।

मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍याएकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

१०० भन्दा बढी अझै बेपत्ता छन् । भारतीय सेनाका ९ जवानसमेत बगेका छन् । ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन् ।