NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

बाढी पहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । मुलुकभर परेको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

अवरुद्ध भएका सडकहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित मध्य पहाडी लोकमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, रसुवाकै उत्तरगया गाउँपालिकास्थित गल्छी-त्रिशूली-मैलुङ सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग रहेका छन् ।

त्यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित वेनी-जोमसोम-कोरला सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित मध्य पहाडी राजमार्ग, बाग्लुङको बागलुङ नगरपालिका दब्ल्याङस्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा छन् ।

त्यसैगरी, पर्वतको जलजला गाउँपालिकास्थित बेनी-मालढुंगा सडक, दाङको लमही नगरपालिकास्थित राप्ती राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।