NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

शंघाई सम्मेलनमा अब राष्ट्रपति होइन, प्रधानमन्त्री सहभागी हुने

काठमाण्डौ – चीनको टिआनजिनमा आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म हुने शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा नेपालबाट राष्ट्रपति सहभागी हुने प्रारम्भिक तयारी भए पनि अब प्रधानमन्त्री आफैं त्यसकाे नेतृत्व गरेर जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार, प्रारम्भमा  उक्त सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तय गरिएको थियो। तर हालै मन्त्रिपरिषदको आन्तरिक छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिलाई प्राथमिकता दिइएको हो।

मन्त्रालयका अनुसार, प्रधानमन्त्रीको उपस्थितिले सम्मेलनमा नेपालको राजनीतिक प्रतिबद्धता र उच्चस्तरीय कूटनीतिक सन्देश प्रष्ट हुने अपेक्षा गरिएको छ।

नेपाल २०१५ देखि SCO को संवाद साझेदार मुलुक हो। यसपटकको सम्मेलनमा सुरक्षा, आर्थिक सहकार्य, ऊर्जा साझेदारी र क्षेत्रीय स्थिरता प्रमुख एजेन्डा रहनेछन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनलगायत अन्य सदस्य राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस शिखर सम्मेलनमा चीन, भारत, रूस, पाकिस्तान, इरान, र मध्य एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्रीहरूको उपस्थिति रहनेछ।