विराटनगर पुगेर विद्या भण्डारीले भनिन्-‘राज्यप्रतिको विश्वास कमजोर भयो, असन्तोष बढ्यो’
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यप्रति जनताको विश्वास दैनिक रूपमा कमजोर हुँदै गएको बताएकी छन्।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणापछि पहिलो पटक विराटनगर पुगेकी भण्डारीले सुशासन र पारददर्शीताको अभावले नागरिकको विश्वास कमजोर भएको बताएकी हुन् ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भएको उनको भनाइ छ ।
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
नेपालको विकासमा विभिन्न चुनौती र अवरोध रहेको उनको भनाइ छ।
‘नेपालको समग्र विकासको मार्गमा आज पनि विभिन्न चुनौती र अवरोधहरू रहेका छन्। जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शीताको कमी, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामीण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन्,’ लिखित मन्तव्य दिएकी उनले भनिन्,‘ यी चुनौतीहरूले राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्याउने मात्र नभई दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ।’


प्रतिक्रिया