बीपी र कर्णाली राजमार्ग खुले
काभ्रेपलाञ्चोक । लगातारको बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध बीपी र कर्णाली राजमार्ग खुलेका छन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ ।
रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका–९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ । बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ । वर्षा भइरहेकाले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।
यस्तै कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटस्थित कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ ।
सडक भासिएका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ठूला मालबाहक ट्रकबाहेक अन्य गाडी आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रावतका अनुसार हिजो नै इन्जिनियरहरूको टिम सडक निर्माणको लागि कालिकोट पुगिसकेको छ । भासिएको सडकको मुनिदेखि पर्खाल उठाउनु पर्ने भएका कारण सडक निर्माणमा केही दिन लाग्न सक्नेछ । यात्रु आवत जावत गर्न अहिले समस्या नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया