के हो जेन जी ? कुन समय जन्मिएकालाई के भनिन्छ ?
काठमाडौं । पछिल्लो केही समयदेखि Generation- z अर्थात् जेन जी पुस्ता चर्चामा छ। सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन जीले सडक आन्दोलन घोषणा गरेपछि त यो पुस्ताको चर्चा झनै चुलिएको छ ।
उमेर समूहअनुसार जेनेरेसनको वर्गीकरण विश्वमा नयाँ अभ्यास होइन । सन् १९०० देखि यस्तो अभ्यास हुँदै आइरहेको पाइन्छ । तर नेपालमा भने यस्तो वर्गीकरण खासै प्रचलनमा छैन । यही कारण जेन जीलगायत पुस्ताको चर्चा भइरहँदा विभिन्न पुस्ता र तिनको वर्गीकरणबारे आधारभूत प्रश्नहरू उठ्ने गरेकाे पाइन्छ ।
जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो । अंग्रेजीको जेनेरेसन z लाई छोटकरीमा जेन जी भनिएको हो । प्रविधिसँगै हुर्किएको यो पुस्तालाई भाग्यमानी जेनेरेसन मानिन्छ ।
जेन जी पछि र अघिको समयमा जन्मिएका मानिसहरूलाई पनि विभिन्न पुस्तामा वर्गीकरण गरिएको छ । मानिसलाई उमेर समूहअनुसार वर्गीकरण गर्ने यस्तो प्रचलन खासमा समाजशास्त्री र जनसाङ्ख्यिकी विज्ञहरूले सुरु गरेका हुन् । यसको उद्देश्य सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई बुझ्न र विश्लेषण गर्न सहज होस् भन्ने रहेको पाइन्छ । यो अभ्यास समाजशास्त्रीहरूले सुरूमा यो अभ्यास युरोप र अमेरिकामा गरे । पछि अन्य देशले पनि यसलाइ रूचाए र विश्वभर फैलियाे । यो अभ्यास ठ्याक्कै यही मितिबाट भयो भन्ने अभिलेख छैन । तथापि सन् १९०० को दशकपछि याे सुरू भएकाे क्रमशः विश्वभर व्यापकता पाएको विश्वास गरिन्छ ।
प्रत्येक पुस्ताले भोगेको मुख्य घटना, प्रविधिको प्रयोग, सामाजिक मूल्य र मान्यतामा आएको परिवर्तनलाई छुट्टाएर हेर्नु यो विभाजनको विशेषता हो। उदाहरणका लागि, द्वितीय विश्वयुद्धले ‘साइलेन्ट जेनेरेसन’ मा पारेको प्रभाव वा इन्टरनेटको आगमनले ‘जेन जी’ मा पारेको प्रभावलाई अध्ययन गर्न यो वर्गीकरण सहयोगी हुन्छ।
केही मुख्य पुस्ताहरू
१. द ग्रेटेस्ट जेनेरेसन
सन् १९०१ देखि १९२७ को अवधिमा जन्मिएको पुस्तालाई द ग्रेटेस्ट जेनेरेसन भनिन्छ । यो पुस्ता एउटा त्यस्तो समयमा जन्मियो जसले युद्ध, पारिवारिक विछोड, वियोग, अभाव लगायत कुरा भोग्यो । अभागी मानिने यो पुस्ता देशभक्ति, कडा परिश्रम र त्यागका लागि परिचित छ ।
२. साइलेन्ट जेनेरेसन
सन् १९२८–१९४५ को अवधिमा जन्मिएका मानिसहरूको पुस्ता हो साइलेन्ट जेनेरेसन । यो पुस्ताले भने आर्थिक स्थिरता र शान्तिको समयमा हुर्किने मौका पायो। यो समयमा हुकिएका मानिसलाई नियम मान्ने, परम्परावादी र कम बोल्ने अनुशासित पुस्ता मानिन्छ।
३. बेबी बुमर्स
सन् १९४६ देखि सन् १९६४ को समयावधिमा जन्मिएको पुस्तालाई बेबी बुमर्स नाम दिइएको छ । दोस्रो विश्वयुद्धपछि विश्वले शान्तिको श्वास फेरेको थियो । युद्धले थिलोथिलो बनेको समाज यसबाट बाहिर आउने बित्तिकै बौरिएको थियो । यसको सकारात्मक प्रभाव एउटा मात्र क्षेत्रमा नपरेर सबैजसोमा एकसाथ परेको थियो । त्यसमध्ये एक जन्मदरलाइ पनि लिइन्छ । दोस्रो विश्वयुद्धपछि मानिसको जन्मदरमा तीव्रतर वृद्धि आयो जुन युद्धकाे समय निकै घटेकाे थियाे । यही तीव्रतालाई मध्यनजर गरेर यो पुस्ताको नामाकरण बेबी बुमर्स गरिएकाे हो । यो पुस्ताले टेलिभिजनको आगमन, भियतनाम युद्ध र नागरिक अधिकार आन्दोलन जस्ता महत्त्वपूर्ण घटनाहरू देख्यो । याे पुस्ताका मानिस काममा अत्यधिक समर्पित हुने भएकाले बेबी बुमर्स नाम दिइएकाे हाे ।
४. जेन एक्स
कम्प्युटर र इन्टरनेटको प्रारम्भिक विकास देख्ने पुस्ता हाे जेन एक्स । सन् १९६५–१९८० को समयमा जन्मिएका याे पुस्ताका मानिसहरूलाई आत्मनिर्भर, व्यावहारिक र परिवर्तनशील मानिन्छ ।
५. जेन वाई वा मिलेनियल्स
सन् १९८१–१९९६ को अवधिमा जन्मिएको पुस्ता हो जेन वाई वा मिलेनियल्स । यो पुस्ताले प्रविधिको तीव्र विकास र सन् २००० को सुरुवातको युग देख्यो । उनीहरूलाई डिजिटल युगको सुरुवातकर्ता पनि मानिन्छ । सामाजिक सञ्जालको प्रयोगमा पनि यो पुस्ता अगाडि छ ।
६. जेन जी
सन् १९९७–२०१२ मा जन्मिएको जेनजी पुस्तालाई डिजिटल नेटिभ पनि भनिन्छ । किनभने, उनीहरूले जन्मेदेखि नै स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै आएका छन्।
सामाजिक र राजनीतिक मुद्दाहरूबारे सचेत यो पुस्ता खुला विचार राख्नेमा अगाडि देखिन्छ ।
७. जेन अल्फा
सबैभन्दा पछिल्लो पुस्ता हो, जेन अल्फा । सन् २०१२ पछि जन्मिएका जेन अल्फाका बालबालिका पूर्ण रूपमा डिजिटल संसारमा जन्मिएका छन्। उनीहरूलाई जेन जीभन्दा पनि बढी प्रविधिमैत्री र अन्तर्राष्ट्रिय सोच राख्ने मानिन्छ।
प्रत्येक पुस्तालाई निश्चित समयसीमामा वर्गीकरण गरेर उनीहरूको विशेषतालाई बुझ्दा र अध्ययन गर्दा यसले समाजका विभिन्न आयामहरूलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत मिल्ने समाजशास्त्रीहरू बताउँछन् ।
ताजा अपडेट
-
स्वीडेनमाथिको फराकिलो जितले डच टोली नकआउट चरणमा
-
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?
-
जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने
-
रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक


प्रतिक्रिया