NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

रातभर सुत्न सकिनँ, प्रधानमन्त्रीले अविलम्ब पद छाड्नु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार भएको दमनको जिम्मा लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब पद छाड्नुपर्ने बताएका छन् । साथै उनले अनाहकमा युवाहरूको ज्यान गएको मंगलबारको घटनाले आफू रातभरि निदाउन नसकेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान एक पोस्ट् सार्वजनिक गर्दै थापाले दमनको जिम्मेवारी लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।उनले नेपाली कांग्रेसले पनि सरकारबाट बाहिरिने निर्णय लिनुपर्ने बताएका छन् ।

‘रातभर सुत्न सकिनँ। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ।’

नेपाली कांग्रेस अब एक दिन पनि यो परिस्थितिको साक्षी र साझेदार हुन नहुने भन्दै उनले तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् । पार्टीको बैठकमा यसबारे निर्णय गराउन आफूले पहल गर्ने उनको भनाइ छ ।

‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन,’थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

नेपाली कांग्रेसभित्र ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने मत चर्को बन्दै गइरहे पनि पार्टी सभापति शेरबहादुर देउवा तत्काल छाड्ने मनस्थितिमा छैनन् । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकमा पनि देउवाले सरकार छाडेपछिको विकल्प के भन्ने स्पष्ट भइनसकेकाले हतार गर्न नहुने बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष