कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
जेनजी समूहले मंगलबार गरेको प्रदर्शनका क्रममा सरकारले गरेको दमनको नैतिक रूपमा क्षमायाचना गर्दै अधिकारीले राजीनामा दिएका हुन् ।
मंगलबारको घटनापछि नैतिकताका आधारमा राजीनामा दिने उनी दोस्रो मन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।
‘स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु,’ अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको साटो व्यापक रूपमा दमन, हत्या र बल प्रयोग गर्नुले लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भन्ने आभास भएको र यसले झस्काएको मन्त्री अधिकारीको भनाइ छ ।
‘हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन,’ अधिकारीले विज्ञप्तिमा भनेका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया