NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सामान्य बन्दै काठमाडौंको जनजीवन (तस्बिरहरू)

काठमाडौं । सुशासन कायम गर्नुपर्ने, बन्द गरिएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने लगायत माग राखेर सडक संघर्षमा उत्रिएका जेन–जी समूहको विद्रोह पश्चात अशान्त बनेको काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै सामान्यउन्मुख बन्दै गइरहेको छ ।

जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठले आगजनी, तोडफोडलगायतका घटना घटेपछि सुरूमा जिल्ला प्रशासन कार्यालय र त्यसपछि नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेका थिए । शनिबारबाट उक्त निषेधाज्ञा र कर्फ्यू हटेपछि काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बनेकाे हाे ।

सार्वजनिक सवारीसाधन शनिबार फाट्टु फुट्ट चलेकोमा आइतबार बिहानैदेखि बाक्लो मात्रामा चल्न थालेका छन् । छोटो दूरीका सवारीसाधन मात्र नभएर लामो दूरीका सवारीसाधन पनि आइतबारदेखि चल्न थालेका छन् । जेन–जी पुस्ताको आन्दोलन देशव्यापी चर्किएपछि लामो दूरीका सवारीसाधन नचल्दा काठमाडौं उपत्यका र त्यसबाहिर आमसर्वसाधारणको सम्पर्क टुटेको थियो ।

 

आइतबारदेखि काठमाडौं उपत्यकाका बजारसमेत पूर्ववत ढंगले खुल्न थालेका छन् । निजी विद्यालयमध्ये अधिकांशले आइतबारबाट पठनपाठन सञ्चालन गर्ने तयारी गरेका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी विद्यालयमा भने सोमबारबाट मात्र पठनपाठन सुरु गर्न लागिएको छ । काठमाडौं महानगरपालिकाको निर्देशनअनुसार सोमबारबाट मात्र ती क्षेत्रभित्रका विद्यालय सञ्चालन गर्न लागिएको हो । महानगरपालिकाले आइतबार अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन र सोमबारबाट पठनपाठन पूर्ववत सञ्चालन गर्न शिक्षकहरूलाई निर्देशन दिएकाे छ ।

जेन–जी समूहले भदौ २३ गते आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको पहिलो दिन प्रहरीले गोली प्रहार गरेर काठमाडौं उपत्यकामा १७ र उपत्यकाबाहिर २ जना आन्दोलनकारी युवाको हत्या गरेपछि आन्दोलनले उग्र रूप लिएको थियो । त्यसैक्रममा भदौ २४ गते जेन–जीको नाममा भएको घुसपैठमा सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण कार्यालय भवन जल्नुका साथै राजनीतिक दलका नेता, व्यवसायीहरूका निजी निवास, उद्योग, कलकारखाना, होटललगायतलाई निशानामा पर्दा ठूलो क्षति भएको थियो । आन्दोलनकारीको मागअनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार अन्तरिम चुनावी सरकार गठन भएसँगै देश क्रमशः सामान्यउन्मुख बन्दै जान थालेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष