वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए ब्याजदर
काठमाडौं – देशका वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार, भदौको तुलनामा असोजमा ब्याजदर औसतमा घटेको देखिएको छ।
भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत थियो भने असोजमा यो घटेर ५.४६३५ प्रतिशतमा झरेको छ। यसअनुसार औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको हो।
व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ। १० वटा बैंकले यो दर घटाएका छन्, जसमा कृषि विकास बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई, एनएमबी बैंक र सिटिजन्स बैंक समावेश छन्।
त्यसैगरी, सात वटा बैंकले ब्याजदर यथावत् राखेका छन्। स्थिर ब्याजदर कायम राख्ने बैंकहरूमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ, हिमालयन र इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।
यता, लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर सामान्य रूपमा बढाएका छन्।


प्रतिक्रिया