ओलीले गौरव बढाएका छन, पर्सि सानदार इन्ट्री हुन्छ, दशौं हजारले स्वागत गर्छन् : महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्ना पार्टी अध्यक्ष केपी ओली अबको तीन दिनपछि सानदार ढंगले सार्वजनिक रूपमा देखापर्ने दाबी गरेका छन् ।
भदौ २४ गते प्रधानमन्त्रीनिवास बालुवाटारबाट सुरक्षाका लागि नेपाली सेनाको शिवपुरीस्थित ब्यारेकमा राखिएका ओलीबारे चासो व्याप्त रहेका बेला उनीनिकट मानिने नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।
ओली सैनिक घेराबाट बाहिर सार्वजनिक हुँदा दशौं हजार मानिसले स्वागत गर्ने दाबी पनि उनले गरे ।
‘तीन दिनभित्र पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष केपी शर्मा ओली सानदार ढंगले, देखिने गरेर आउनु हुन्छ । दशौं हजार जनताले स्वागत गर्नेछन्,’ उनको दाबी छ ।
भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा प्रहरीलाई बल प्रयोग गर्ने आदेश दिएर झण्डै दुई दर्जनको ज्यान लिएको भन्दै ओलीलगायत जिम्मेवार मन्त्री, अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन जेनजी समूहले माग गरिरहेको छ । तर बस्नेतले पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सत्तामा रहँदा हीनताबोध हुने कुनै काम नगरेको, बरु राष्ट्रको गौरव बढाएको अनौठो जिकिर गरेका छन् ।
‘केपी ओलीले हीनताबोध गर्नुपर्ने केही काम गर्नुभएको छैन,’ उनले भने, ‘बरु राष्ट्रको गौरव राख्ने काम गर्नुभएको छ । त्यही भएर हामी सानदार ढंगले आउँछौं ।’भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवालगायत माग राखेर जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा किशोरसहित झण्डै दुई दर्जन युवाको ज्यान गएको थियो । सरकारी दमनकै कारण त्यसको भोलिपल्ट आक्रोसित प्रदर्शनकारीले सार्वजनिक, निजी, व्यावसायिक भवनहरूलाई निशाना गर्दै आगजनी गरेका थिए । ओली आफैंको बालकोटस्थित निवासमा आगजनी गरिएको थियो भने ज्यान जोगाउन भागेर नेपाली सेनाको ब्यारेकमा बस्नु परेको थियो । अहिले पनि उनी आफूमाथि सुरक्षा खतरा रहेको भन्दै नेपाली सेनाको शिवपुरीस्थित ब्यारेकमै छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया