NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

पहिलो एआई मन्त्रीका कुरा

ल्बानियाका प्रधानमन्त्री एडी रामाले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण र नवप्रवर्तनलाई प्रोत्साहन निम्ति विश्वको पहिलो एआई मन्त्री नियुक्त गरेका छन्। मन्त्रीमा नियुक्त गरिएको यो एआईको नाम ‘डिएला’ दिइएको छ, जसको अर्थ अल्बानियाको स्थानीय भाषामा ‘सूर्य’ हुन्छ।

माइक्रोसफ्टको साझेदारीमा विकसित ‘डिएला’लाई गत हप्ता मात्र नियुक्त गरिएको हो। यसले सिंगो विश्वलाई नै यतिबेला तरंगित बनाएको छ ।

यो एआई परम्परागत अल्बानियाली पहिरनमा सजिएकी एक महिलाको रूपमा पर्दामा देखिन्छिन्। प्रधानमन्त्री रामाले फेसबुक पोस्ट्मार्फत ‘डिएला’लाई ‘भौतिक रूपमा उपस्थित नभएको तर भर्चुअल रूपमा सिर्जना गरिएको क्याबिनेट सदस्य’ भनेका छन् ।

डिएलालाई मन्त्रीको जिम्मेवारी दिनुअघि नै, यसले ‘ई–अल्बानिया’ नामक सरकारी प्लेटफर्ममा भर्चुअल सहायकका रूपमा काम गरिरहेको थियो। त्यस समयमा यसले नागरिकहरूलाई सरकारी कागजातहरू प्राप्त गर्न मद्दत गर्थ्यो।

प्रधानमन्त्री रामाका अनुसार, यो एआईले सार्वजनिक टेन्डरहरूलाई ‘पूर्ण रूपमा भ्रष्टाचारमुक्त’ बनाउनेछ। ऐतिहासिक रूपमा अल्बानियामा सरकारी खरिद प्रक्रिया घुस, धम्की र निहित स्वार्थका कारण बदनाम हुँदै आएको छ। एक चरणबद्ध प्रक्रियामार्फत यो एआई बोटले अब सार्वजनिक बोलपत्रमार्फत छनोट कार्य गर्ने अपेक्षा गरिएको छ । ‘डिएला’लाई निजी कम्पनीहरूसँगको सरकारी ठेक्काका लागि योग्यताका आधारमा हरेक टेन्डरको मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको छ। यसको मुख्य लक्ष्य अनुचित ढंगले टेन्डर निर्णय प्रभावित पार्नबाट रोक्नु हो।

‘सार्वजनिक बोलपत्रहरूमा हुने हरेक सम्भावित प्रभावलाई समाप्त पार्ने मात्र छैनौं, यस प्रक्रियालाई छिटो, प्रभावकारी र पूर्ण जवाफदेही पनि बनाउनेछौं,’ रामाको दाबी छ ।

यद्यपि, ‘डिएला’ को नियुक्तिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीले यस निर्णयलाई ‘हास्यास्पद’ र ‘असंवैधानिक’ भन्दै आलोचना गरेको छ। अल्बानियाको संविधानअनुसार, सरकारी मन्त्रीहरू ‘मानसिक रूपमा सक्षम र १८ वर्ष वा सोभन्दा माथिका नागरिक’ हुनुपर्छ।

‘डिएला’, ‘हम्फ्री’ र ‘अल्बर्ट’

‘डिएला’ विश्वको पहिलो एआई–निर्मित मन्त्री बनेको छ । विश्वका लागि यो पहिलो अभ्यास भए पनि विभिन्न देशका सरकारहरूले एआई प्रणाली अवलम्बन गरिरहेका छन् ।

बेलायत सरकारले यस वर्षको सुरुदेखि नै ‘हम्फ्री’ नामक एक बहु–उपकरण सुइट सुरु गरिसकेको छ । यसको नाम सन् १९८० को दशकको बेलायती हास्य टेलिशृङ्खला ‘यस मिनिस्टर’का एक काल्पनिक नोकरशाहको नाममा राखिएको छ । ‘हम्फ्री’ सुइटमा ‘कन्सल्ट’ नामक एक एआई उपकरण पनि छ । जसलाई स्कटल्यान्ड सरकारले लेजर हेयर रिमुभल र लिप फिलर जस्ता गैर–शल्य चिकित्सासम्बन्धी नियमनमा प्रयोग गरेको छ।

यसैबीच, फ्रान्समा तत्कालीन प्रधानमन्त्री ग्याब्रिएल अटलले गत अप्रिलमा प्रशासनिक प्रक्रियालाई सुव्यवस्थित गर्नका लागि ‘अल्बर्ट’ नामक फ्रान्सेली निर्मित एआई प्रणाली सुरु गरेका थिए। यसले सरकारी अधिकारीहरूलाई बारम्बार सोधिने प्रश्नहरूको जवाफ दिन मद्दत गरी समय बचाउनका लागि सहायत पुर्याइरहेको छ । यसले कर अधिकारीहरूलाई सोधिएका प्रश्नहरू, कानुनी सुनुवाइको ट्रान्सक्रिप्सन, र उजुरी तथा मेडिकल रिपोर्टहरूको दर्ता गर्ने जस्ता कामहरू पनि गर्दै आइरहेको बताइएको छ ।

एआईले मन्त्री बनाउँदा आलोचना

एआईको प्रयोग दैनिक जीवनको अभिन्न अंग बन्दै गइरहेको छ । यसले प्रदान गरेको सहजतालाई उपभोग नगरी अब विश्व अघि बढ्ने परिकल्पना गर्न सकिँदैन ।

अल्बानियाले एआई मन्त्री नियुक्त गरेको विषयमा भने आलोचना सुरु भएको छ । केहीले लोकतन्त्रभित्र सिर्जित समस्या समाधानका लागि डिजिटल अधिनायकवाद जन्माइएको तर्क गरेका छन् । उनीहरूको भनाइ छ, यो कुरा सिलिकन भ्यालीका अर्बपतिहरूलाई मन पर्न सक्छ तर विश्वभरका लोकतन्त्रवादीहरूका लागि यो एउटा गम्भीर खतरा हो।

शासन व्यवस्था एआईद्वारा सञ्चालित हुने हो भने लोकतन्त्रको सान्दर्भिकता नै सकिने तर्क पनि योबीचमा आएका छन् ।

एजेन्सीको सहयोगमा

ताजा अपडेट

नेपालवाच विशेष