एसियाडमा ४३४ खेलाडीको नाम दर्ता
काठमाडौँ – जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता भएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९ पुरुष खेलाडी २०औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको उल्लेख छ।
एसियाडका लागि खेलअनुसार खेलाडीको दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १६ सम्म थियो। त्यसमा ओलम्पिक कमिटीले यसअघि दर्ता गरिएको खेलमा दुई खेल थप गरेर ३२ खेलको खेलाडीका नाम दर्ता गरेको एनओसीले जनाएको छ।
यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पटकपटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीको सङ्ख्याका बारेमा कुनै जानकारी प्राप्त नभएपछि पहिला दर्ता गरिएका ३० वटा खेलसँग सम्बन्धित सङ्घबाट सम्भावित खेलाडीको सङ्ख्या उपलब्ध गराएको जनाइएको छ।
सोही अनुसार हिजो आयोजक कमिटीमा ‘इन्ट्री बाई’ नम्बर प्रक्रिया सम्पन्न भएको कमिटीका महासचिव राजीव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि ओलम्पिक कमिटीले ३० खेलको नाम दर्ता गरेको थियो । त्योबेला नाम दर्ता नभए पनि खेलाडीको नाम दर्ता गर्दा फुटबल र तेक्वान्दोको खेलाडीको नाम पनि थप गरिएको थियो।
एसियाडमा दर्ता गरिएको खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस्, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस्, गल्फ, हकी र जुडो छन्।
त्यसैगरी, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस् क्लाइम्बिङ, स्कावास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती र उसु छन्। पछि थप गरेको खेलमा तेक्वान्दो र फुटबल रहेको छ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया