के बालेनले नयाँ दल खोल्दैछन् ?
काठमाडौं । जेन–जी क्रान्तिको सफलतापश्चात अन्तरिम सरकारको नेतृत्व चयन गर्न डिजिटल प्लेटफर्म डिस्कर्डमा आयोजित छलफलमा सहभागी अधिकांशको रोजाइमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाह परे । डिस्कर्डमा मिटिङ चलिरहेकै बेला जेन–जी प्रतिनिधिले अन्तरिम सरकारको नेतृत्व लिइदिने प्रस्ताव राख्ने हेतुले बालेनलाई सम्पर्क पनि गरे । तर उनले फोन उठाएनन् । कार्यकारी प्रधानमन्त्री बन्ने सोचमा रहेकाले बालेनले ६ महिनाको प्रधानमन्त्री पद स्वीकार नगरेको बताइन्छ । त्यसपछि चर्चामा रहेका विभिन्न नामहरूमा भोटिङ गराउँदा त्यसमा सहभागी सात हजारभन्दा बढीले सुशीला कार्कीलाई चयन गरेका थिए । त्यसकै आधारमा गत शुक्रबार राति कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भइसकेकी छन् ।
युवापुस्ताको आशा र भरोषाको केन्द्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन परेको यो पहिलो पटक होइन । पुराना राजनीतिक दलको गैरजिम्मेवारी, अपरादर्शिता, राज्यका निकायमाथिको अस्वाभाविक नियन्त्रणले मुलुकमा बढाएको कुशासन, भ्रष्टाचार, वेथिति, बेरोजगारीले दिक्दारिएका युवाले बालेन अघि बढिदिउन् भन्ने चाहना विभिन्न माध्यमहरूबाट बारम्बार प्रकट गर्दै आइरहेका छन् । जेन–जी विद्रोहपछि फेरि पनि एउटा राजनीतिक दल खोलेर बालेन व्यवस्थित ढंगले राजनीतिक मार्गमा अघि बढुन् भन्ने इच्छा परिवर्तनकामीहरूको एउटा तप्काले राखेको पाइन्छ । ‘जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले यही फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति घाेषणा गरिसकेको छ । अब काठमाडौं महानगरपालिकाका मेयर बालेनले जेनजीको भावनाको सम्मान हुने गरी दल घोषणा गरेर निर्वाचनको तयारी गर्नुपर्छ,’ जेनजी आन्दोलनमा सहभागी धादिङका सुजन घिमिरे भन्छन् । बालेन निकटहरूले पनि उपयुक्त समय आएको भन्दै उनलाई दल घोषणा गर्न सुझाव दिएका छन् ।
अन्य कुरा यथावत् रहन्थ्यो, निर्वाचन २०८४ मै हुन्थ्यो भने बालेनलाई अहिले नै दल खोल्न हतारो हुने थिएन । किनभने, उनले त्यसको एक वर्ष वा ६ महिनाअघि मात्र यो काम गर्दा पनि हुन्थ्यो । तर परिवर्तित परिस्थितिमा निर्वाचन घोषणा भइसकेको र त्यसको मिति ६ महिना मात्र टाढा रहेकाले पनि बालेन दल खोल्नुपर्ने तीव्र दबाबमा छन् । मूलधारको राजनीतिमा आउने नै हो भने बालेनका लागि दल गठनको सबैभन्दा उपयुक्त समय यही नै हुनसक्छ ।
त्यसो त, अन्तरिम सरकार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका मेयर बालेन शाहले दल निर्माण गर्न लागेको चर्चा राजनीतिक वृत्तमा चल्न थालेकाे छ । म नबाेलीकन काम गर्ने स्वभावका बालेन आफैंले भने अहिलेसम्म यसबारे कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
स्रोतका अनुसार, परिस्थितिको मूल्यांकन गरेर बालेन शाह अब भने दल खोल्ने गृहकार्यमा जुटेका छन् । तर अहिल्यै खोल्ने कि केही समय पर्खने कुरा चाहिँ टुंगिन बाँकी छ ।
‘बालेन शाह आगामी फागुनमा हुन गइरहेको निर्वाचनमा दल खोलेर भाग लिने मनस्थितिमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तत्काल सार्वजनिक गरिहाल्ने कि केही समय पर्खिने भन्ने टुंगो लाग्न बाँकी छ ।’ आफ्ना सल्लाहकार, समर्थकहरूले दल खोलिहाल्न भने पनि बालेन हतार गर्ने पक्षमा छैनन् । सुशीला कार्की नेतृत्वमा गठित सरकारमाथि उठेको प्रश्न सर्वोच्च अदालत पुगिसकेको छैन । आगजनीका कारण सर्वोच्चको काम कारबाही प्रभावित हुँदा तत्काल कोही सर्वोच्चमा नगए पनि संविधानविपरीत सरकार गठन भएको आलोचना भइरहेकाले कोही न कोही यसको न्यायिक परीक्षण माग गर्दै अदालत पुग्ने करिब पक्का छ । अदालतले संविधनका धारा मात्र नहेरी आन्दोलन र जनताको मर्मलाई हेरेर निर्णय गर्यो भने त निर्वाचनतिर मुलुक अघि बढ्ला, नभए फरक मोड पनि आउने देखिन्छ । त्यस्तो अवस्थामा निर्वाचन मिति मात्र पर धकेलिने छैन, राजनीति नै अनपेक्षित दिशातिर जानसक्छ । त्यसैले अहिले नै दल खोलेर आन्तरिक समस्या र उल्झनमा फस्नुभन्दा बरु केही समय प्रतीक्षा गर्न बालेनले उपयुक्त ठानेको बताइन्छ ।
‘सुशीला कार्की नेतृत्वमा गठित सरकारविरुद्ध कोही न कोही सर्वोच्च जाने देखिन्छ,’ बालेन निकट स्रोत भन्छ, ‘त्यस्तो स्थितिमा फरक किसिमको फैसला नआउला भन्न सकिन्न । त्यसैले बालेन न्यायालयको निर्णय पर्खिएर यसबारे कदम उठाउने मनस्थितिमा हुनुहुन्छ ।’
को–को समेटिएलान् बालेनको दलमा ?
बालेनले निर्माण गर्न लागेको नयाँ दलमा कस्ता कस्ता अनुहार समेटिएलान् भन्ने विषयलाई निकै प्रतीक्षाका साथ हेरिएकाे छ । उनले जन्माउन लागेको दललाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएकाले यो स्वाभाविक पनि छ ।
स्रोतका अनुसार, विभिन्न क्षेत्रमा ख्याति कमाएका, इमानदार, निष्कलंक पात्रहरूलाई समेटेर दल निर्माण गर्ने मनस्थिति उनले बनाएका छन् । पुराना दलबाट जनता बाक्कदिक्क भएकाले त्यसलाई चिर्नका लागि पनि बालेनले आशालग्दा अनुहार समेटुनुपर्ने खाँचो छ । प्रारम्भिक छलफलकै चरणमा रहेकाले उनको दलमा को–को सामेल हुन्छन् भन्ने कुरा अहिलेसम्म खुलिसकेको छैन ।
रास्वपाको राम्रो जनाधार रहेकाले यो दललाई समेटेर अघि बढ्न पनि बालेनलाई कतिपयले सुझाव दिएका छन् । आगामी निर्वाचनमा वैकल्पिक दुई राजनीतिक शक्ति अलग अलग प्रतिस्पर्धामा जाँदा त्यसको सिधा फाइदा पुराना दललाई नै हुने देखिन्छ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने डामिएको हुनाले बालेनले यस्तो सुझावलाई भने अस्वीकार गर्दै आएका छन् ।तथापि, बालेनको दलमा रास्वपाबाट धेरै अनुहार आउने सम्भावना छ । पूर्वशिक्षा मन्त्री समेत रहेकी सुमना श्रेष्ठले यही प्रयोजनका लागि उक्त दलसँगको आबद्धता त्यागेको चर्चा राजनीतिक वृत्तमा चलिरहेकाे छ । तर उनी बालेनसँग जोडिइहालेको अवस्था भने छैन ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गाेपी हमाल लगायतलाई पनि साथमा लिएर अघि बढ्ने बालेनकाे चाहा छ । हमाल सामेल हुने/नहने खुलेकाे छैन तर साम्पाङ भने सहभागी नहुने सम्भावना बढी छ । अन्तरिम सरकारकाे नेतृत्व गर्ने भन्दै काठमाडाैं आएका हर्क मन्त्रीसमेत नपाएपछि बालेनसँग रिसाएका छन् । अन्तरिम सरकार गठनमा बालेनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । सुशीला कार्की उनकै सिफारिसमा प्रधानमन्त्री बनेकी हुन् भने गृहजस्ताे महत्त्वपूर्ण पदमा पनि उनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई नियुक्ति दिलाउन सफल भएका छन् । हातमा रिमाेर्ट लिएका बालेनले आफूलाई भने कम आँकेकाे हर्ककाे बुझाइ छ । यही कारण उनले काठमाडौंबाट फर्केपछि सामाजिक सञ्जालमार्फत बालेनलाई आक्रमण गरिरहेका छन् ।
नयाँ एक ठाउँ नउभिए पुरानालाई नै फाइदा
पुराना राजनीतिक दलप्रति अहिले जनमानसमा यति धेरै वितृष्णा छ कि त्यो गत भदौ २३ र २४ गते सडकमा देखियो । ०६४ पछि परम्परागत मत सम्भवत पहिलो पटक भत्किएको छ ।
नयाँ वैकल्पिक राजनीतिक शक्ति आगामी निर्वाचनमा जनतासमक्ष जाने हो भने त्यसले पुराना दललाई नसोचेको चुनौती हुनसक्छ । यस पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनले जन्माउन तरखर गरेको पार्टी जनताको रोजाइमा पर्ने देखिन्छ । वैकल्पिक भनिएका राजनीतिक शक्ति एक ठाउँमा नआई आ–आफ्नै हिसाबले जाँदा मत विभाजन भएर पुरानै दललाई फाइदा पुग्ने अवस्था पनि विद्यमान छ । दुई शक्तिलाई मिल्न भनिए पनि त्यस्तो सम्भावना भने निकै कम देखिन्छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया