जेन–जी नरसंहार प्रकरण– अरूमाथि दोष थोपरेर पन्छिए ओली
काठमाडौं । निष्क्रिय पारिएको सामाजिक सञ्जालमाथिको अवरोध हटाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायत माग राखेर गत भदौ २३ गते जेन–जीहरूले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन नगरेको हुन्थ्यो भने होनाहार १९ युवाले त्यो दिन अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन । अझ भदौ २४ गतेको बिर्सनलायक विध्वंशकारी घटना त देख्नैपर्ने थिएन । बिर्सनलायक यस अर्थमा कि उक्त दिन दर्जनौं नेपालीको ज्यान मात्र गएन, सार्वजनिक, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड हुँदा ठूलो नोक्सानीसमेत भयो ।
त्यस घटनाका मुख्य जिम्मेवार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट भागेर सैनिक हेलिकप्टरमार्फत ब्यारेकमा पुगेकोमा बिहीबार सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका छन् । आफ्नो घर प्रदर्शनकारीबाट जलाइएपछि भक्तपुरको गुण्डुमा डेरा सरेका ओली अबकसरी प्रस्तुत होलान् ? आफ्नो कारणले निर्दोष युवाले ज्यान गुमाएको घटनामा माफी माग्लान् कि, अरूमाथि दोष थोपरेर उम्केलान् ? आमनागरिकका यस्ता प्रश्नहरूबीच शुक्रबार सार्वजनिक भएका ओली षड्यन्त्रकारीलाई दोष देखाएर त्यसको जिम्मेवारी लिनबाट पन्छिएका छन् ।
उक्त दिन संसद् भवनअगाडि नेपाल प्रहरीले नभएर घुसपैठिया षड्यन्त्रकारीले गोली चलाएको दाबी ओलीले गरेका छन् । प्रहरीसँग हुँदै नभएको स्वचालित हतियारबाट भदौ २३ गते गोली चलेको दाबी उनले गरेका छन् ।
‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं,’ ओलीले आफ्नो फेसबुकमा शुक्रबार बिहान लेखेका छन्, ‘त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो ।’
उक्त दिन ज्यान गुमाएका युवाहरूको पोस्ट्मार्टम रिपोर्टले अधिकांशको छाती, टाउकोलगायतमा गोली लागेको देखाएकाे छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पनि प्रहरीले ताकीताकी युवाहरूकाे छातीमा गोली हानेको देखिएको छ । तर ओलीले भने सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नै नदिएको जिकिर गर्दै झुट बाेलेका छन् । यति मात्र हाेइन प्रहरीसँग हुँदै नभएको स्वचालित हतियारबाट गोली चलेकाले यसमाथि छानबिन गर्नुपर्ने माग ओलीले राखेका छन्।
‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनपर्दछ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
देश, संविधान र आफ्नाविरुद्ध षड्यन्त्र भएको बताउने ओलीले ती को हुन् भन्नेचाहिँ खुलाएका छैनन् । यसबारे तत्काल आफूले केही नबताउने, समयले सबै कुरा स्पष्ट पार्ने उनले जनाएका छन् । ‘यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ । धेरै कुरा समयले आफैं बयान दिनेछ ।’
राम्रा काम गरेको दाबी
आफ्नो काम र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहँदा ओलीले पुरानै लवजमा आफूले दूरगामी किसिमका महत्त्वपूर्ण कामहरू गरेको दाबी गरेका छन् । नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना आफ्नो सरकारले बनाइरहेको उनको भनाइ छ । उत्तरी छिमेकी देश चीनसँग गरिएको पारवहन सम्झौतालाई उपलब्धिका रूपमा व्याख्या गरेका ओलीले सार्वभौमसत्ताको सामथ्र्य पनि विस्तार गरेको दाबी गरेका छन् । थपमा उनले विकासका संरचनाहरुको जग बसालेको, अर्थतन्त्र तंग्रिएको दाबी पनि गर्न भ्याएका छन् ।
‘संविधान जारीपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौं,’ ओलीको दाबी छ, ‘उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं । हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूको जग बसालेका थियौं । अर्थतन्त्र तंग्रँदै थियो ।’
आफूलाई काजी भीम मल्लसँग तुलना
देश सकारात्मक दिशातर्फ अग्रसर भइरहेका बेला देश बिग्रेको काल्पनिक भाष्य खडा गरेको भन्दै उनले फेरि पनि त्यसको बचाउ गरेका छन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा पनि देशभित्र धेरै राम्रा काम हुँदाहुँदै पनि केही नभएको गलत भाष्य बनाएर आक्रमण गरिएको ओलीले बताउने गरेका थिए ।
‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ,’ ओलीको भनाइ छ ।
केही मुलुकले नेपालीलाई भिसा नदिने कदम उठाएका समाचारहरू प्रकाशमा आएका छन् । नेपालीको विश्वास गुम्नुको पछाडि ओलीको पनि ठूलो भूमिका छ । यस प्रकरणमा आफ्नो भागमा परेको जिम्मेवारी नलिई अरूलाई दोष थोपरेर पन्छिने प्रयास ओलीले गरेका छन् । ‘विदेश जाने–आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।’ यो कुरा नेपालीले समयमै बुझ्नुपर्ने र नबुझे देशकै सार्वभौमसत्ता संकटमा पर्ने ओलीको दाबी छ ।
यसक्रममा उनले आफूलाई काजी भीम मल्लसँग तुलना गर्दै समयमा नेपालीले नचेते पशुताउनुपर्ने बताएका छन् । देशको सीमाना बढाउन भूमिका खेलेका मल्लको देश फर्किने बित्तिकै हत्या भएको थियो ।
ओलीले लेखेका छन्– हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।’
संविधान र सार्वभौमसत्ता जोगाउन अपिल
आफ्ना कारण देशले मूल्य चुकाएको घटनामा कत्ति पनि गल्ती महसुस नगरेका ओलीले संविधान र सार्वभौमसत्ता जोगाउन नेपालीलाई अपिल गरेका छन् ।
‘हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ ( सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न,’ उनले भनेका छन्, सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।’
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया