NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मापदण्ड मिचेर कुच्चिएको र फुटेको जारमा पानी बेच्दै त्रिशूली मिनरल्स

काठमाडौं । खानेपानी उत्पादक कम्पनी त्रिशूली मिनरल्स एण्ड वेभरेज प्रालिले मापदण्डविपरीत जारको पानी बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । फुटेका, कुच्चिएका, मैलाधैला जारमा पानी बिक्री गरेर त्रिशूली मिनरल्सले मापदण्डको दुहाइ दिँदै उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड गरेको हो ।

प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरणका लागि सरकारले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ जारी गरेको छ । उक्त निर्देशिकाको बुँदा नं. ८ (ग) मा कुच्चिएका, कोत्रिएका, फुटेका, फोहोर जमेका, लेउ लागेका तथा पुरानो भई अपारदर्शी भएका जारहरू प्रयोग गर्न नपाइने उल्लेख छ । यस्तो जारको पानी उपभोक्तासम्म पुग्दा विभिन्न रोगको संक्रमण हुन सक्ने खतरा रहन्छ । उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन मापदण्डमा यस्तो स्पष्ट व्यवस्था गरिएको भए पनि त्रिशूली मिनरल्सले त्यसको बेवास्ता गर्दै पानी बिक्री वितरण कार्य गर्दै आइरहेको छ ।

त्रिशूली मिनरल्सले बजारमा बिक्री गर्दै आइरहेको पानीको जारको भिडियो तथा तस्बिर हामीलाई प्राप्त भएको छ । जसमा मापदण्डविपरीत हुनेगरी कुच्चिएको, मुख फुटेको फोहोर जार उपभोक्तालाई बिक्री गरेको प्रष्ट देख्न सकिन्छ ।

यस किसिमको लापरबाहीबारे त्रिशूली मिनरल्सका सञ्चालकलाई पटक–पटक जानकारी गराएर मापदण्ड परिपालना गर्न अनुरोध गरे पनि सुनुवाइ नभएको एक उपभोक्ताले गुनासो गरे । ‘फुटेका, कुच्चिएका, चुहिने, हेर्दै घीनलाग्दा जारमा त्रिशूली मिनरल्सले गन्ध आउने पानी बिक्री गरेपछि त्यसो नगर्न सचेत उपभोक्ताका नाताले त्यसका सञ्चालकलाई पटक–पटक अनुरोध गरेको थिएँ,’ नेपालवाचको सम्पर्कमा आएका एक उपभोक्ताले गुनासो गरे, ‘तर हामीले जति गुनासो गरे पनि थोत्रा, कुच्चिएका, फुटेका जारमा गन्धयुक्त पानी आउन छाडेको छैन ।’
त्रिशूली मिनरल्सको विकल्पमा अन्य कम्पनीका पानी प्रयोग गर्न सकिने भए पनि नजिकका पसलहरूले सोही कम्पनीका पानी मात्र जारमा राख्दा समस्या भएको ती उपभोक्ताको भनाइ छ । ‘पसलेलाई पनि यस्ता कुच्चिएका, टुटेफुटेका जारमा पानी नबेच्नुस् । अलि राम्रो कम्पनीको ल्याउनु न भनेका भन्यै छौं । तर उहाँहरूले पनि सुन्नु हुन्न । सबैको मिलेमतो छ,’ ती उपभोक्ताले गुनासो गरे ।

त्रिशूली मिनरल्स एण्ड वेबरेजका सञ्चालक होम बोगटीले टुटेका, फुटेका थोत्रा जारमा भरिएका आफ्ना कम्पनीका पानी उपभोक्तासमक्ष बिक्री वितरण भइरहेको स्वीकार गर्ने गरेका छन् । यस प्रकारका गुनासो धेरै उपभोक्ताले आफूलाई गर्ने गरेको उनले निःसंकोच बताउने गरेका छन् ।

आफ्नो कम्पनीको पानीमा यति धेरै समस्या रहेको जानकारी पाएपछि उत्पादक कम्पनीले त्यसलाई सुधार गरेर उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन भूमिका खेल्नुपर्ने हो । एक हिसाबले उत्पादक कम्पनीका लागि यो अवसर पनि हो । तर बोगटी पानी उत्पादक कम्पनीभन्दा पनि उपभोक्ता स्वयं यस मामलामा सचेत हुनुपर्ने अनौठो तर्क गर्छन् । उनका अनुसार, टुटेका, फुटेका, कुच्चिएका, थोत्रा जार पानी कम्पनीले नपठाउने भन्दा पनि उपभोक्ता आफैंले पानी प्रयोग गरेर रित्तिसकेपछि लेबलिङ गरेको ठाउँबाट सियोले घोपेर काम नलाग्ने बनाइदिनुपर्छ । त्यसो गर्दा अर्को पटक त्यस्ता जार प्रयोगमा नआउने उनको भनाइ छ ।

‘गाडीवालाले फुटेका, कुच्चिएका, थोत्रा जारमा पनि पानी ल्याउने गरेका छन् भने त्यसलाई उपभोग गरिसकेपछि लेबल टाँसेको ठाउँनिर सियोले घोचिदिनुहोला,’ मापदण्डविपरीतका जारमा पानी आएको गुनासो गर्ने उपभोक्तालाई उनले सुझाव दिँदै भन्ने गरेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरू फुटेका, कुच्चिएका जारमा उपभोक्तालाई पानी बेच्नै नमिल्ने बताउँछन् । यदि कसैले मापदण्ड मिचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ भने त्यस्ता कम्पनीमाथि कानूनअनुसार कारबाही हुने उनीहरूको भनाइ छ ।

‘जारको पानी बिक्री वितरण गर्ने हाम्रो छुट्टै मापदण्ड छ । त्यसअनुसार कुच्चिएको, फुटेको, फोहोर जारमा पानी बिक्री वितरण गर्न मिल्दैन,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नेपालवाचसँग भने, ‘यदि पानी उत्पादक कम्पनीले मापदण्डविपरीत काम गरेको छ भने त्यसको अध्ययन गरेर नियमानुसार कारबाही गर्छौं ।’ महर्जनका अनुसार नियमविपरीत जारको पानी बिक्री वितरण गर्ने कम्पनीलाई पाँच लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

ताजा अपडेट

नेपालवाच विशेष