NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

हनुमानढोकामा फूलपाती भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएको छ।

यसै अवसरमा काठमाडौँको हनुमान ढोकाको दसैँ घरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैंघरमा भित्र्याइएको हो।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँ घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।

गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ।

 

ताजा अपडेट

नेपालवाच विशेष