NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

काठमाडौँ । आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ ।

चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैँमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा.भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडा बान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउँछन् । उनले एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने बताउँछन् । उनले भने, “बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ ।”

 

पकाउने तरिकामा विशेष ख्याल पुर्याउनुपर्ने भन्दै उनले पोलेर र तारेर मासु प्रयोग नगर्न सुझाव दिए । चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै उनले भने, “नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ ।”

शाकाहारीले पनि धेरै मिठाइ, पनिरजस्ता वस्तु खान नहुने उनले बताए । उनले भने, “मिठाइ लामो समयदेखि बनाएर राखिएको हुन्छ, जसले स्वास्थ्यमा असर गर्छ ।” पनिर पनि धेरै खाँदा कोलेस्ट्रोल बढ्ने भन्दै उहाँले ठिक्क मात्रामा खान सुझाए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरु शरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए । उनले दसैँमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भने, “बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ ।”

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.विनय ठाकुर बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने बताउँछन्। मासु खान हुने भन्दै उनले भने, “तर धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुन्छ ।” स्वस्थ तरिकाले मासु पकाएर खान उनले सुझाव दिए । मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् ।

चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ, तर खानपिन र आहार बिहारमा लापरबाही गर्ने चलन छ । अर्को कुरा, धेरै बिरामीहरू आफू मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन् । खासगरी घरमा सबै जना जम्मा भएको बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेसरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भए पनि सहने चलन छ, जसले गर्दा मुटु रोगीको जोखिम बढ्न जान्छ । यसबाहेक, यो बेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारणले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष