NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

छापामा आज : ९ लाख मुद्दाका मिसिल जले, स्वेच्छिक अवकाशमा जान ओलीद्वारा अस्वीकार

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । नेपाल तेस्रो पल्ट विश्वकप क्रिकेटमा छनोट भएको, सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको विषयलाई सबैजसो अखबारले प्राथमिकतापूर्वक छापेका छन् । बुधबारदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त भनाइ र त्यसले दिएको सन्देशलाई पनि अखबारहरूले विश्लेषणात्मक पाटोबाट पस्केका छन् ।

विश्वकपमा नेपाल

तेस्रो पल्ट विश्वकप क्रिकेटमा नेपाल छनोट भएको विषयलाई सबैजसो अखबारले आज मुख पृष्ठमा छापेका छन् ।

बुधबार एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअघि नै नेपालको विश्वकप यात्रा तय गरेको हो । बुधबार नै सम्पन्न खेलमा युएईले सामोआ र कतारले जापानमाथि जित हासिल गरेका थिए । खेलको यस्तो नतिजासँगै नेपाल र ओमान दुवै एक खेलअघि विश्वकपमा पुगेका हुन् ।

कान्तिपुरले दुवै खेलमा आफूअनुकूलको नतिजा आएपछि नेपाल पुनः विश्वकपमा प्रवेश गरेको लेखेको छ । यसअघि पनि नेपालले सन् २०१४ र सन् २०२४ मा दुई पटक विश्वकप क्रिकेट खेलेको थियो ।

यो सिजनको विश्वकप छनोटका लागि भएका सबै खेलमा नेपाल अपराजित रहँदै आएको छ । बुधबार राति ओमानविरुद्धको खेलमा पनि नेपालले ३८ रनको फराकिलो जित निकाल्यो । शुक्रबार सामाओसँग अपराजित यात्रा कायम गरेमा नेपाल च्याम्पियसनसिप बन्नेछ ।

नयाँ पत्रिकाले विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले क्रिकेटका महारथी देशसँग खेल्ने ढोका खुला गरेको टिप्पणी गरेको छ । त्यस्तै एक वर्षदेखिको विश्वकप खेल्ने सपना साकार भएको भनेर कप्तान रोहित पौडेलले जनाएको प्रशन्नतालाई पनि नयाँ पत्रिकाले समाचारमा समेटेको छ ।

गोरखापत्र दैनिकले टी–२० विश्वकपमा छनोट भएको नेपाललाई राष्ट्रपतिले शुभकामना दिएको समाचार छापेको छ । नेपाल विश्वकप क्रिकेटमा छनोट भएको केही समयपछि सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । २० राष्ट्रको सहभागिता रहने विश्वकपमा आयोजक राष्ट्र भारत र श्रीलंका स्वतः छनोट भएका छन् भने गत संस्करणबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इण्डिज छनोट भएका छन् । त्यस्तै, अमेरिकी क्षेत्रबाट क्यानडा, आइसिसी वरीयताबाट आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तान, युरोपबाट नेदरल्याण्ड्स इटली , अफ्रिकाबाट जिम्बावे र नामिबिया र एसिया–इस्ट एसिया प्यासिफिकबाट नेपाल, ओमान र अर्को एक टिमले सहभागिता जनाउनेछन् । एसिया–इस्ट एसिया क्षेत्रमा छनोट प्रतियोगिता चलिरहेकाले एक टिम छनोट हुन बाँकी छ ।

जले ९ लाख ३३ हजार मुद्दाका मिसिल

जेनजी पुस्ताले गत भदौ २४ गते सर्वोच्च र अन्य अदालतमा आगजनी गर्दा महत्त्वपूर्ण दस्तावेज र मुद्दाका मिसिल जलेका छन् । कान्तिपुरले आज यस विषयमाथि सोधीखोजी गरेको छ ।

कान्तिपुर समाचारका अनुसार प्रारम्भिक अध्ययनले चालुतर्फ ३० हजार ७५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको देखाएको छ ।

काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली भुटानी शरणार्थी , सिभिल सहकारी, ललिता निवासको लिखत कीर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजता चर्चित मुद्दाका मिसिल नष्ट भएका छन् ।

रवि लामिछाने र जिबी राईको सहकारी ठगी मुद्दाको मिसिल भने उच्च अदालत पाटनबाट फिर्ता आएको छ । सम्बन्धित फाँट जले पनि त्यहाँ पुर्याउन बाँकी रहेकाले उक्त फायल भने जोगिएको हो । रवि र जिबी जोडिएको सहकारी ठगी प्रकरणको कास्की र चितवन जिल्ला अदालतमा रहेका फायल भने जलेका छन् ।

स्वेच्छिक अवकाशमा जान ओलीद्वारा अस्वीकार

जेनजी विद्रोहपछि ठूला दलका शीर्ष नेतामाथि नेतृत्व हस्तान्तरण गर्न दबाब परे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेका छन् ।

बुधबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा स्वेच्छिक अवकाशलाई अस्वीकार गर्दै वैधानिक प्रक्रियाबाट हटाउन ओलीले चुनौती दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएपछि स्वेच्छिक राजीनामा अस्वीकार गर्दै आफूलाई बहुमत र प्रक्रियाबाट हटाउन चुनौती दिएका छन्,’ नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

नयाँ पत्रिकाका अनुसार पार्टीभित्र आफ्नो नेतृत्व क्षमता र जेनजी आन्दोलनले पुर्याएको क्षतिको नैतिक जिम्मेवारीमाथि नेता कार्यकर्ता तहबाट प्रश्न उठ्न थालेपछि ओलीले अर्ली महाधिवेशनको विकल्प रोज्दै मिति प्रस्ताव गरेका छन् ।

र यो पनि– सुन अढाइ लाख पुग्दा पनि माग बढेको बढ्यै

सुन तोलाकै साढे दुई लाख पुग्दा पनि नेपालीको सुनमोह उत्तिकै चुलिँदो छ ।

नया पत्रिका दैनिकका अनुसार यो बेला खासगरी काँचो सुन किन्नेहरू बढेका छन् । असोजमा मात्रै चार सय किलो सुन आयात गरेकोमा ९३ किलो मात्रै मौज्दान भएपछि थप आयातको तयारी थालिएको छ ।

आजभन्दा ६ वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार रूपैयाँ हाराहारी थियो । ०७६ असारसम्म यही रेन्जमा रहेको सुनको मूल्य विभिन्न घटनाक्रमले बढ्दै अहिले अढाइ लाख नजिक पुगेको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष