धान भित्र्याउने बेला वर्षाले बिगारेपछि किसान चिन्तित
काठमाडौँ । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि पाल्पाका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ ।
यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्यो । दिउँसो काटेको बाली राति परेको पानीले बरबाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए ।
खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताइन् । “बुधबार धान स्याहार्ने योजना बनाएको थिए । आज बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भए पनि धान भित्र्याइसक्थे”,उनले भनिन् ।
यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मंगलबारलाई राखेका थियौँ, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न नसकिएको हो, आज आँगन भिजेको छ ।”
पोखराथोककी मिना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन् । तर भित्र्याउने बेला पानीले क्षति पुर्याएपछि उनी चिन्तित छन् ।
“धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भनिन्,“दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।”
बाली भित्र्याउने बेला पानीले क्षति पुर्याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याउँदै थिए । केहीले पानी पर्ने भन्दै हतार हतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धान बालीमा क्षति पुग्यो ।
कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आई नसकेको बताइन् । उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाई मार्फत क्षति विवरण संकलनका लागि आग्रह गरिएको बताइन् ।
केन्द्र प्रमुख पाण्डेले भनिन्, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठुलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण संकलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ । ”
बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ ।
जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षेधान, ७०५ हेक्टरमा चैतेधान र २७ हजार २१२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यसवर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षेधान लगाइएको कृषि ज्ञानको तथ्यांक रहेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया