एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास
जेनेभा । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् ।
अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा छन् भने चीनका कम्पनीहरू दोस्रो स्थानमा रहेका छन् ।
उक्त संस्थानका रणनीति तथा डिजिटल अध्ययनका प्राध्यापक माइकल वेडका अनुसार, चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोग उद्योग, स्वास्थ्य उपचार र स्वचालित सवारी साधनजस्ता व्यावहारिक क्षेत्रमा विस्तार गर्न केन्द्रित भएको छ । यसले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
वेडले भने, ‘उन्नत कम्प्युटर चिप्स प्राप्त गर्न कठिनाइ भए पनि चीनले सन् २०१४ देखि २०२३ सम्म ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्तासम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा निकै बढी हो ।’
उनका अनुसार, ‘चीन अत्यन्त शक्तिशाली प्रणाली निर्माणभन्दा पनि त्यसलाई सुलभ र व्यावहारिक रूपमा जनजीवनमा प्रयोगमा ल्याउन बढी ध्यान दिइरहेको छ ।’
प्रविधि र सञ्चार क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोगका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् । चीनका प्रविधि र बीमा क्षेत्रका कम्पनीहरू सबैभन्दा सक्षम देखिएका छन्, भने ऊर्जा र निर्माणजस्ता परम्परागत सरकारी उद्योगहरू अझै पछि रहेका छन् ।
प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता प्रयोगमा परिपक्व कम्पनीहरूले औसत वार्षिक आम्दानी ६.७९ प्रतिशतले वृद्धि गरेका देखाएको छ, भने यस प्रविधिमा कमजोर कम्पनीहरूको आम्दानी ०.५१ प्रतिशतले घटेको छ ।
स्विट्जरल्यान्डमा मुख्य कार्यालय रहेको उक्त संस्थानले लोजान र सिङ्गापुरमा शिक्षण केन्द्र सञ्चालन गर्दै आएको छ र हालै चीनको शेन्जेन शहरमा पनि आफ्नो कार्यदल स्थापना गरेको छ ।
-राससबाट
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया