बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री हसिनालाई दियो २१ वर्ष जेल सजायको आदेश
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाइएको केही दिन नबित्दै अर्को अदालतले २१ वर्षको जेल सजाय तोकेको छ ।
सत्ताको दुरुपयोग, जग्गा घोटाला लगायतका मुद्दामा हसिनालाई अदालतले दोषी ठहर गर्दै २१ वर्ष जेल सजाय सुनाएको हो ।
ढाका अदालतले हसिनाकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई समेत पाँच/पाँच वर्षको जेल सजाय तोकेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
ढाका अदालतका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामूनले फैसला पढ्दै हसिना र उनको परिवारले कुनै निवेदन, प्रक्रिया वा कानुनी मापदण्ड पूरा नगरी आफ्नो अधिकार क्षेत्रबाहिर पर्ने जग्गा/प्लटको दोहन गरेको पाइएको निष्कर्ष सुनाएका थिए ।
पूर्वाञ्चल नयाँ शहर परियोजनाको सेक्टर २७ को कूटनीतिक क्षेत्रमा रहेको १०–१० कठ्ठा जमिन गैरकानुनी रूपमा आफू, आफ्नो छोरा सजीब वाजेद, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरा रदवान मुजीब सिद्दिक बबी र छोरी अजमिना सिद्दिकका नामसारी गराएको आरोपमा ३१ जुलाईमा मुद्दा दायर भएको थियो ।
अदालतले २० जना अभियुक्तमध्ये १९ जनालाई विभिन्न अवधिको जेल सजाय सुनाएको छ ।
यसअघि १७ नोभेम्बरमा हसिनालाई उनको अनुपस्थितिमै ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (अदालत)ले मृत्युदण्डको फैसला सुनाएको थियो ।
हसिना पछिल्लो १५ महिनाभन्दा बढी समयदेखि भारत निर्वासनमा छिन् । बंगलादेश सरकारले अदालतको आदेश कार्यान्वयन गराउन भन्दै हसिनालाई प्रत्यार्पण गर्न भारत सरकारलाई दुई पटक पत्राचार गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया