NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

अध्यक्षमा निर्विवाद, केन्द्रीय सदस्यमा असफल: एमाले महाधिवेशनको अनौठो नतिजा

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनले नेतृत्व चयनमा अपेक्षा नगरिएको चित्र कोरेको छ। पार्टी अध्यक्षमा स्पष्ट बहुमतसहित केपी शर्मा ओली पुनः निर्वाचित भए पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भने उनी स्थान बनाउन असफल भएका छन्।

पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्य पदमा पनि उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा उनले १ हजार ६६३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई ठूलो अन्तरले पछि पारे। तर खुला केन्द्रीय सदस्यतर्फ उनको मत संख्या ९७९ मा सीमित रहँदा उनी २८औँ स्थानमा पुगे र अन्तिम सूचीबाट बाहिरिए।

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामले नेतृत्व तहमा समर्थन बलियो भए पनि तल्लो तहमा मतदाताको छनोट फरक रहेको संकेत गरेको छ।

यसैबीच, अध्यक्ष पदमा ओलीसँग पराजित भएका ईश्वर पोखरेलले भने केन्द्रीय सदस्यमा सफलता हासिल गरेका छन्। उनले खुला केन्द्रीय सदस्यतर्फ १ हजार ८८ मत ल्याउँदै नवौँ स्थान सुरक्षित गरेका छन्।
महाधिवेशनको यो परिणामले एमालेभित्र मतदाताको राजनीतिक सन्देश र नेतृत्वप्रतिको अपेक्षाबारे नयाँ बहस सुरु गराएको छ।