NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

कपिलवस्तु शिवराज नगरपालिका- ५ घर भई हाल काठमाडौं- ३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका– १२ का ३३ वर्षीया वविता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका- ९ घर भई हाल काठमाडौं गोकर्णेश्वर- ५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये अधिकारीले अल्बानियाँ पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई विदेश नपठाएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता अधिकारीले बताए ।