थुनामुक्त भएपछि रविको प्रतिक्रिया : “न्यायको हिसाब अझै बाँकी छ”
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार अपराह्न कारागारबाट मुक्त भएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा ललितपुरको नख्खु कारागारमा थुनामा रहेका उनलाई रुपन्देही जिल्ला अदालतले पूर्जी दिएपछि औपचारिक रूपमा रिहा गरिएको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार शर्तसहित थुनामुक्त गर्न आदेश दिएसँगै लामिछाने जेलबाहिर आएका हुन्। आदेशअनुसार अब उनी बाहिरै बसेर आफ्ना गतिविधि गर्न पाउनेछन्, तर विदेश यात्रा गर्न अदालतको अनुमति अनिवार्य हुनेछ।
नख्खु कारागारबाट रिहा भएपछि उनलाई प्रहरीको निगरानीमा चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा लगिएको थियो। त्यसपछि रुपन्देही जिल्ला अदालतमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपछि उनी पूर्ण रूपमा थुनामुक्त भए।
भैरहवामा संक्षिप्त सम्बोधन गर्दै लामिछानेले ठूला राजनीतिक दलहरूतर्फ संकेत गर्दै देशमाथि गम्भीर अन्याय भएको आरोप लगाए। आफूविरुद्ध भएको व्यवहारभन्दा देशले भोगेको अन्याय ठूलो भएको उल्लेख गर्दै उनले भने, “सबै कुराको हिसाब बाँकी छ। त्यो हिसाब मिलाएपछि म विस्तारमा बोल्नेछु।”
उनले अझै न्याय प्राप्त हुन बाँकी रहेको र सत्य बाहिर ल्याउने समय आउँदै गरेको संकेत पनि गरे। “मसँग भन्न बाँकी धेरै कुरा छन्। आज यति मात्रै बोलेँ, बोल्ने दिन अवश्य आउनेछ,” भन्दै उनले आफूलाई साथ र विश्वास दिनेहरूप्रति आभार व्यक्त गरे।


प्रतिक्रिया