यस्तो छ रवि र बालेनबीचको सातबुँदे समझदारीपत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहबीच बृहत् एकतासम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार बिहान सातबुँदे सहमति बनेको हो ।
गत भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको वलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न सम्झौता गरिएको रवि र बालेनले गरेको बृहत् एकतासम्बधी सम्झौतापत्रमा उल्लेख छ ।
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसाथ गरेर एक ठाउँमा उभिएका उनीहरूको सहमतिको पहिलो बुँदामा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र त्यसक्रममा ज्यान गुमाएका घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।
समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दशवर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने प्रतिबद्धता पनि रवि बालेनले जनाएका छन् ।
सम्झौताको तेस्रो बुँदामा रास्वपा र बालेन पक्षबीच बृहत् एकता भएपश्चात स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै हुने र झण्डा तथा चुनाव चिह्न पनि हाल सो दलले लिइरहेकै हुने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने प्रतिनिधिसभाको आगामी निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन् ।
पाँचौं बुँदामा बृहत् एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम, फराकिलो बनाउन युवा अभियन्ता, अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्ने र जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ । दुुई पक्षबीच हुने भनिएको बृहत् एकता कहिले हुन्छ भन्नेबारे सहमतिपत्रमा केही उल्लेख गरिएको छैन ।
छैटौं बुँदामा पछिल्लो सम्झौताबमोजिम रास्वपासम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने छ भने सातौं बुँदामा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने उल्लेख छ ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका रवि लामिछाने उच्च अदालतको आदेशमा छुटे लगत्तै बालेनसँग संवाद सुरु भएको थियो । वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा उभिएको हेर्न चाहने नागरिक तह, जेनजी अभियन्ता, कलाकारलगायतको चर्को दबाब रवि र बालेनमाथि परेको थियो । यसबीचमा वैकल्पिक राजनीति सुरु गरेका कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउने प्रयास भएका थिए । तर त्यसले भने अहिलेसम्म आकार लिन सकेको छैन । स्रोतका अनुसार, रवि र बालेनले दोस्रो चरणमा कुलमानलाई आफूतिर तान्ने रणनीति बनाएका छन् । त्रिपक्षीय रूपमा छलफल गर्दा भागबण्डा बिलाउन अप्ठ्यारो पर्ने भएकाले दुुई पक्ष मिलेपछि मात्र कुलमानलाई मिलाउने रणनीतिमा रवि, बालेन लागेका हुन् ।



प्रतिक्रिया