ओलीसँग डिबेटमा बस्न बालेनद्वारा अस्वीकार, २३ को घटना लुकाउन ओलीले २४ मा विध्वंश मच्चाएको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बहस गर्न इन्कार गरेका छन् । ओली ७६ जना बालबालिकाका हत्यारा भएकाले उनीसँग एउटै मञ्चमा उभिएर आफूले बहस गर्न नसक्ने उनको भनाइ छ । साथै उनले गत भदौ २३ गतेको हत्या आतंक लुकाउन ओलीले नै २४ गतेको विध्वंश मच्चाएको आरोप पनि लगाएका छन् ।
दलहरूले सार्वजनिक गरेका भावी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै ठाउँमा राखेर सार्वजनिक बहस गराउनु पर्ने माग चलिरहँदा ओलीले सामाजिक सञ्चालमार्फत आफू त्यसका लागि तयार भएको बताएका थिए । ओलीकै फेसबुक पोस्ट्मा प्रतिक्रिया दिँदै बालेनले ओलीसँग पब्लिक डिबेट गर्न नसकिने प्रष्ट पारेका हुन् । जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जनाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको त्यसमा सामेल भएको रूपमा बुझिने बालेनको भनाइ छ ।
‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको रूपमा बुझिनेछ,’ ओलीको स्ट्याटसको मुनि बालेनले प्रतिक्रिया जनाएका छन् ।
प्रधानमन्त्रीका उम्मेदवारबीच पब्लिक डिबेट गराउनेबारे कांग्रेस सभापति गगन थापाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । कांग्रेसले गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।
त्यस्तै, बालेनले २३ गतेको हत्या आतंक लुकाउन ओलीहरूले नै २४ गतेको आगजनी गराएको आरोप लगाएका छन् । ओलीले सुरुदेखि नै २४ गतेको आगजनीको घटना बालेनलगायतको उक्साहटमा भएको आरोप लगाउँदै आइरहेका छन् ।
बालेनले ओलीलाई आफूलाई कहिले आतंकवादी स्वीकार गर्ने भन्ने प्रश्नसमेत गरेका छन् । ओलीले आफूलाई आतंकवादी स्वीकार गरेपछि मात्रै थप कुरा गर्ने बालेनको भनाइ छ ।
तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला,’ बालेनले भनेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता



प्रतिक्रिया